
नेपालको नम्बर एक गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को टाइटल स्पोन्सरमा अग्रणी दुई पाङ्ग्रे सवारी ब्राण्ड ‘बजाज पल्सर’ अनुबन्ध भएको छ ।
बिहीवार काठमाण्डौमा आयोजित कार्यक्रममा बजाज पल्सरका तर्फबाट गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छा र भ्वाइस अफ नेपालका तर्फबाट हिमालय टेलिभिजनका तर्फबाट अध्यक्ष धर्मराज भुसाल एवं कार्यकारी निर्देशक श्याम कँडेलवीच टाइटल स्पोन्सरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
टाइटल स्पोन्सरका रुपमा अनुबन्ध भएसँगै द भ्वाइस अफ नेपालको यो श्रृङ्खलालाई ‘बजाज पल्सर प्रिजेन्ट्स द भ्वाइस अफ नेपाल सिजन ४’ का रुपमा उल्लेख गरिने छ ।
नेपालको युवापुस्तामा अति नै लोकप्रिय भ्वाइस अफ नेपालको टाइटल स्पोन्सरमा अनुबन्ध हुन पाउनु पल्सरका लागि गौरवको बिषय भएको गोल्छा ग्रुपका प्रबन्ध निर्देशक गोल्छाले बताए ।
पल्सर पनि युवापुस्ताको ब्राण्ड भएकाले भ्वाइस र पल्सरवीचको सहकार्य अर्थपूर्ण रहेको उनले बताए ।
हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको द भ्वाइस अफ नेपाल देशकै सवैभन्दा धेरै दर्शक भएको नम्बर एक रियालिटी शो हो ।
चौथो सिजनका लागि डिजिटल अडिसन शुरू भइसकेको छ जहाँ अहिलेसम्म हजारौं प्रतिभाहरूले द भ्वाइस अफ नेपाल सिजन-४ को उपाधि जित्नेआकांक्षासहित आवेदन दिइसकेका छन् ।
अबको दुई साताभित्र डिजिटल अडिसन बन्द भई कार्यक्रम उत्पादनको तयारी तिब्र पारिने टेलिभिजनका कार्यकारी निर्देशक श्यामकडेलले जानकारी दिए।
डिजिटल अडिसनमा सहभागी प्रतिभाहरूको थप परीक्षण र छनौटपछि कुल १ सय २० जना प्रतिभाहरूले कोचका अगाडि ब्लाइन्ड अडिसनमा प्रस्तुती दिन पाउनेछन् ।
ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरूको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुनेछ । छानिएका ६४ जना प्रतिभाहरू ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रम आगामी श्रावण महिनादेखि हरेक शुक्रबार र शनिवार राती ८ बजे प्रसारण हुने छ ।