
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्र बडूले सम्बोधनका क्रममा असंसदीय भाषा प्रयोग गर्दै आफ्नो दलको नेतालाई अपमानित गरेको भन्दै नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ ।
एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
सरकारका नीति तथा कार्यक्रममाथि छलफल गर्न शुक्रवार बसेको बैठकको शुरूमै सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बडूले इन्धनको मूल्यवृद्धिलगायत विषयमा बोल्नका लागि समय लिएका थिए ।
त्यसक्रममा मन्त्री बडूले बिहीवार नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद्मा बोल्दा निगमलाई निजीकरण गर्न लागेको भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए ।
प्रमुख प्रतिपक्षी दलको नेताले संसदमार्फत जनतालाई भ्रम छर्न खोजेको उनले आरोप लगाएपछि एमालेले संसदमा नियमापत्ति गरेको थियो । एमाले सांसदहरूले नियमापत्ति गर्दै ओलीमाथि लगाएका निराधार आरोप र असंसदीय शब्द फिर्ता हुनुपर्ने माग गरे ।
एमालेको नियमापत्तिपछि सभामुख अग्नि सापकोटाले रेकर्ड हेरेर उचित निर्णय लिने बताए ।
त्यसपछि उनले मन्त्रीलाई बोल्न समय दिए । मन्त्री बडूले कमिसन खाएर निगमलाई निजीकरण गर्न लागिएको भन्ने आरोप झुटा र पूर्वाग्रही भएको बताए ।
‘नेपाल आयल निगमलाई खारेज गरेर कमिसन खाएर निजीकरण गर्न लागिएको भन्ने विपक्षी दलको नेताका आरोप झुटा, पूर्वाग्रही नै हो । यो आरोप खेदजनक छ, यो आपत्तिजनक छ । पूर्वाग्रही छ,’ मन्त्री बडूले भने ।
त्यसपछि एमाले सांसदहरूले उभिएर मन्त्रीले माफी माग्नुपर्ने बताए । एमाले सांसदहरूले अबरोध जारी राखेपछि सभामुख सापकोटाले प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।