
चीनका परराष्ट्रमन्त्री वाङ यीले शनिवार सामोआ भ्रमण टुंग्याएका छन् ।
त्यसअघि उनले त्यहाँका शीर्ष अधिकारीहरूसँग पारस्परिक चासो र सचन्ताका विषयमा वार्ता गरेका थिए । उनले सामोआसँग आर्थिक तथा प्राविधिक सहकार्य सम्बन्धी द्विपक्षीय सहमतिमा पनि हस्ताक्षर गरेका छन् ।
नयाँ सम्झौताको विस्तृत विवरण उपलब्ध छैन तर वार्तामा क्षेत्रीय शान्ति तथा सुरक्षा लगायतका विषयहरू समेटिएको बताइन्छ । जलवायु परिवर्तन र कोभिड १९ महामारीमा पनि चर्चा भएको छ ।
सामोआले बेइजिङलाई पूर्वाधार विकास, स्वास्थ्य सेवा र कृषि परियोजनाको महत्त्वपूर्ण सहयोगी भनी प्रशंसा गरेको छ । वाङले दुवै देशको उस्तै ऐतिहासिक अनुभव तथा साझा विकास कार्यहरू रहेको बताए ।
‘एकपक्षीयता तथा प्रभुत्ववादी थिचोमिचोको वातावरणमा चीन सामोआ लगायतका विकासशील मुलुकहरूसँग एकता तथा सहकार्यमा इच्छुक छ । विकासशील मुलुकहरूको वैध अधिकारको सुरक्षा तथा वास्तविक बहुपक्षीयतामा हामी जोड दिन्छौं,’ वाङ यीले बताए ।
प्रशान्त क्षेत्रका मुलुकहरूसँग चीनले गरेको सम्झौताले उसको आर्थिक तथा सामरिक हित गर्नेछ । यसलाई अस्ट्रेलिया र न्युजील्यान्ड आफूमाथिको सुरक्षा खतराका रूपमा लिएका छन् ।