
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले सामाजिक न्यायसहितको समृद्ध प्रदेश बनाउन सक्नुपर्ने बताएका छन् ।
त्यसपछि मात्रै प्रदेशका नागरिकले वास्तविक गणतन्त्र आएको अनुभूति गर्न पाउने उनले बताए ।
लुम्बिनी प्रदेश सरकारले आइतवार बुटवलमा आयोजना गरेको १५ औं गणतन्त्र मूल समारोह समितिमा मुख्यमन्त्री केसीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्ति सामान्य नभएर युगान्तकारी परिवर्तन र ऐतिहासिक घटनाक्रम भएकाले सर्वसाधारणले यसबाट परिवर्तन महसुस गर्नुपर्ने बताए ।
‘जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउन नसक्दासम्म गणतन्त्रको वास्तविक प्राप्तिको अनुभूति हुने छैन,’ उनले भने ।
मुख्यमन्त्री केसीले लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालाई अझ बढी संस्थागत गर्नुपर्नेमा जोड दिए । उनले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक लगायत सबै प्रकारको विभेद र उत्पीडन अन्त्य गर्न प्रदेश सरकार योजनागत कार्यक्रम लिएर अगाडि बढेको बताए ।
मुख्यमन्त्री केसीले नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, खानेपानी, सरसफाइ, वातावरण संरक्षणलगायत आधारभूत अधिकारलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै नागरिकको जीवनस्तर फेर्ने गरी काम गर्न जरुरी रहेको बताए ।
‘नागरिकको महत्वपूर्ण त्याग, तपस्या र बलिदानबाट मात्रै सम्भव भएको हो । सबैको मिहिनेत, योगदानबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो र मजबुत बनाउँदै लैजानु पर्नेछ,’ उनले भने, ‘सबैको पहुँचमा विकास पुर्याउनुपर्ने छ ।’