
प्रिय तीर्थ जी
नगर प्रमुख
दिरूम (दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका) नपा, खोटाङ ।
तीर्थ जी, तपाईंको जीतमा सारा खोटाङे कांग्रेसजनले खुशीयाली मनाएका छन् ।
सत्य, न्याय निष्ठामा बसेर कांग्रेसको पवित्र चारतारे झण्डालाई सग्लो र अर्धसग्लो शरीरभित्रको पवित्र आत्मासँग जोडेर उनीहरूले तपाईंलाई विजयी गराएका हुन् ।
वीर पुर्खाहरूको अनवरत त्याग, बलिदान र संघर्षले चारतारे झण्डालाई जनताको आत्माको उचाइमा पुर्याई कांग्रेसको विचार, आस्था र विश्वासको घेराभित्र राखी पवित्र चुनाव चिह्न रूखमा मतदान (आत्मादान) गरी निर्वाचित गराए । यो जीतका लागि कदम–कदममा पल–पल झरी बादल नभनी भोकभोकै खट्ने योद्धाहरूको आशालाई पूरा गर्नु तपाईंको राजनीतिक कर्तव्य बन्नुपर्छ ।
मलाई याद छ, २०७९ वैशाख १२ (दिक्तेल बजार भवन गैर्रादेखि जिल्ला अदालतसम्मको दृश्य) जुन दिन यो जिम्मेवारी प्राप्त गराउनका लागि तपाईं एक्लै लडिरहनु भएको थिएन, सारा दिरूमका जनता तपार्इंका लागि अन्तरहृदयदेखि चर्को घाममा भिरालो (नमिल्दो) जमिनमा उत्साहका साथ लडिरहेका थिए । त्यहाँ उनीहरूलाई कसैले खान दिएर वा लोभलालचको भोजन पान गराएर वा काल्पनिक भविष्य देखाएर खरिद–बिक्री गरेर ल्याएका नवउन्मादका हुँकार थिएनन् तिनीहरू । थिए त केवल सत्य, न्याय निष्पक्षता र लोकतन्त्रको पक्षमा उर्लिएको भावनाको बेजोड एक जनभेल थियो, त्यही भावनाको भेलको आवाजको गर्जनबाट प्राप्त जिम्मेवारीलाई तपाईंले कदापि खेलबाड गर्नु पाउनु हुनेछैन र गर्नुहुने छैन भन्ने विश्वास लिएको छु ।
यसै पनि जोगी जीवनबाट प्रभावित तपाईंको सादगी जीवनले खोटाङको कांग्रेस राजनीतिमा हाम्रो पुस्ताको भन्दा केही वर्ष अगाडिको हो । खोटाङे जनताको बीचमा जनअपेक्षाको उर्वाउँदो फूल भई अहिले खोटाङको राजनीतिको आशाको केन्द्र बन्नु भएको महसुस गरेको छु ।
र मेरा केही परम मित्रहरू विभिन्न अवस्थाले सिर्जना गरेका परिस्थितिको घेराभन्दा बाहिर जान नसकेकाले राजनीतिमा केही पछि परेको महसुस गरिरहेका छन् ।
खैर, केही छैन । तपाईंको जीत खोटाङे माटो, खोटाङे जनता र लोकतन्त्रको सुनिश्चित भविष्य निर्माण र दिरूमको भौतिक नवयुग निर्माणका लागि स्वर्णिम बनाउनु हुनेछ भन्ने विश्वास लिएको छु ।
यो जितसँगै सदरमुकाम दिक्तेलका जनताले समृद्ध समाज निर्माणको चाहनासँगै सग्लो आशाको पोको बाँधेर दिरूमका जनताले विश्वासका साथ तपाईंलाई गरूङ्गो भारी बोकाएका छन् ।
सम्पूर्ण जनताको भावनाको संवेगलाई सुझबुझपूर्वक निर्वाह गरी जनताको आशालाई उचाइमा पुर्याई निमुखालाई न्याय र विपन्नलाई आयुको लागि अहोरात्र खट्नु तपाईंको दायित्व बन्नुपर्छ ।
मानिस यसै पनि भौतिक विलासीसँगै भर्चुअल जीवनमा रमाउँदै गएको छ । फेसबुक, ट्वीटर, युट्युब, इन्स्टाग्राम र ह्वाटस्एपजस्ता सामाजिक सञ्जाल समाज परिवर्तनको माध्यमसँगै मानिसको जीवनका पाटा बन्दै गएका छन् । तर, सामाजिक सञ्जाल प्रयोगकै करण बर्सेनि १० औं अर्ब नेपाली रूपैयाँ बाहिरी रहेको छ ।
हाम्रो भौतिक विलासीपनको जीवनले उत्पादन र वितरणको असन्तुलन र उपभोगमा दैनिक अत्यधिक वृद्धिले देश चरम व्यापार घाटामा छ । हाम्रो वर्तमान अवस्था भनेको विदेशीले मोबाइल बनाउने, हाम्रा नौजवानले पसिनासँगै घरका सदस्यलाई महँगा मोबाइल पठाउने अनि गाउँ छोडेर शहर पसेका नवशहरियाले टिकटक र फेसबुक भिडियो बनाउने अनि हामी सन्तानको पसिनाको पैसाले पठाएको महँगो मोबाइलमा पैत्रिक बारी बाँझो राखी टाट्नामा २ वटा बाख्राको पाठा पालेर किसानको पहिचान बनाउँदै दिनभर टिकटक, फेसबुक, युट्युबमा र न्युज पोर्टलमा झुम्मिएर शिक्षित र साक्षर भएको महसुस गरेर गदगद् गर्ने ।
समाज वर्तमान अवस्थामा संवेदनाविहीन छ । मानवभित्रका भावना र संवेदना मर्दै गएको छ । यस्तो अवस्थामा भुइँमान्छेलाई समृद्धि र सन्तुष्टिको लक्ष्मण रेखाभित्र राखी निराशाले भरिएर चाउरिएका मलिन अनुहारमा उज्यालो किरण छरी खेतका बाझा गराजस्ता आवरण भएका जनताको अनुहारमा चम्किला धर्सासहितको उज्यालो मुस्कान ल्याउनु तपाईंको निशर्त कर्तव्य बन्नुपर्छ ।
गाउँ त मन र व्यवहारको सुगम नै हो । तर के गर्नु गाउँलेका लागि उपचार गर्ने अस्पताल र सुनौलो भविष्य निर्माण गरिदिने आधुनिक स्कुल र कलेज नै पो नबनाई दिएर दुर्गम बनाइदिए ।
त्यसैले नागरिकले विश्वासका साथ दिएको पवित्र जिम्मेवारीलाई भौतिक विलासी र उत्तेजित भई लहडका भरमा अनुत्पादक र वितरणमुखी बन्ने छुट तपार्इंलाई छैन । यदि तपाईंमा अहम्ताको पहाडले प्रवेश गरेर उन्माद आयो भने सबै कुरामा विचलन आउने पक्का छ ।

आवधिक निर्वाचन एउटा विधिवत् प्रक्रिया हो । यो आउँछ जान्छ । निर्वाचनले कसैलाई प्रक्रियागत जिम्मेवारी दिन्छ, कसैलाई भावनात्मक जिम्मेवारी । अहिले तपाईंले प्रक्रियागत जिम्मेवारी पाउनु भएको छ । जिम्मेवारीलाई संस्थागत स्थायित्व बनाई जनताको भावानाको पुञ्ज बनाउनु तपाईंको राजनीतिक जिम्मेवारी हो ।
महालेखा परीक्षकको कार्यालयका अनुसार अहिले थामी नसक्नुको बेरूजु स्थानय तहमा देखिएका छ, सँगै अधिकार दुरुपयोगको हिसाबले सबैभन्दा बढी उजुरी अख्तियारमा स्थानीय तहको छ ।
२०३६ सालमा बहुदल र सुधारिएको पक्षविपक्षमा जनमत संग्रह भयो । कांग्रेस पार्टी संस्थापक बीपी कोइरालाले एकदलीय पञ्चायती व्यवस्थाको विरुद्धमा पार्टीलाई जनमत संग्रहमा लानुभयो । पार्टीको पक्षमा जनमत परेन तर पनि बीपी निराश हुनु भएन । तत्कालीन राजा वीरेन्द्रले दरबारमा बोलाएर बीपीलाई भन्नुभयो, ‘जनता सुधारिएको पञ्चायतको पक्षमा नै रहेछन् बीपी, त्यो परिणामले देखायो तै पनि आन्दोलनरत पक्षको नेताको रुपमा बुझ्न बोलाएको हुँ । सुधारिएको पञ्चायतको बारेमा केही भन्नु छ ?’
बीपीले राजा वीरेन्द्रलाई भन्नुभयो, ‘परिणाम पञ्चायतको पक्षमा रह्यो स्वीकार्छौँ । मौसुफले आफूअनुकूलको निर्णय गर्न सकिबक्सन्छ तर प्रत्येक निर्णय गर्दा प्रतिपक्षसँग ४६ प्रतिशतभन्दा बढी जनमत छ भनेर स्मरण गरे पुग्छ । एक गलत निर्णयका कारण यो जनमत कुनै पनि बेला ५१ प्रतिशत पुग्न सक्छ र मौसुफ निर्णय प्रक्रियाबाट बाहिरिनुपर्छ भन्ने हेक्का राखिदिए पुग्छ ।’
हामी त्यस्ता दुरद्रष्टा नेताका राजनीतिक चेला तपाईंको एक गलत निर्णयले कुनै पनि बेला परिणाम पल्टन सक्छ ।
जनताले गाउँगाउँमा सिंहदरबार खोजेका छन्, जंगबहादुर होइन । त्यसैले नागरिकका सुखदुःखमा सहयोगी बन्नु, स्थानीय समस्या पहिचान गर्नु र समाधान खोज्नु, नागरिकको चाहना र भावनाको जानकारी लिनु र उनीहरूको जीवन पद्धतिका बारेमा चासो चिन्ता लिनु असल नेतृत्वको उपज हो । त्यसैले शासक कहिल्यै घमण्डी देखिनु हुँदैन, जहिल्यै भद्र देखिनुपर्छ ।
शासक कहिल्यै अहंकारी देखिनु हुँदैन, जहिल्यै गुणकारी र परोपकारी देखिनुपर्छ र शासक कहिल्यै कायर देखिनु हुँदैन, जहिल्यै वीर भएर मर्यादा पुरूष भगवान राम जस्तो उभिनु पर्छ । रामराज्य निर्माण गरी जनतालाई अनुभूत गराउनुपर्छ । दिरूमका जनताका लागि तपाईंको भूमिका शासकको हैन सेवकको होस् । सफलताका लागि हार्दिक शुभकामना ।
तपाईंको सुभेच्छुक
गणेश