
मुस्ताङमा भएको विमान दुर्घटनामा संकलन भएका शवहरूलाई पोखरा लगिएको छ ।
अहिले पोखरामा मौसम खराब भएका कारण ती शवहरूलाई काठमाडौं ल्याउन सकिएको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार पोखराको मौसम अनुकूल भएपछि त्यहाँ लगिएका शवहरूलाई काठमाडौं ल्याइनेछ ।
काठमाडौं शव आएपछि प्रक्रिया पुर्याएर आफन्तलाई बुझाउने तयारी गरिएको छ ।
आइतवार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एन–एईटी कलसाइनको ट्वीनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
जहाजमा १३ जना नेपाली यात्रु, ६ जना विदेशी र ३ जना चालक दलसहित २२ जना सवार थिए । विमान दुर्घटनामा सबैजनाको मृत्यु भएको हो ।