अमेरिकाका राष्ट्रपति जो बाइडनले रुसी भूमिमा प्रहार गर्न सक्ने रकेट युक्रेनलाई उपलब्ध नगराउने बताएका छन् ।
लगभग १८५ माइल दायरा भएका लामो दूरीका क्षेप्यास्त्रहरू युक्रेनी भूमिमा तैनाथ गर्ने सम्भावना रहेकोमा मस्कोसँगको तनाव घटाउन बाइडनको बयान आएको हो ।
डोनबास क्षेत्रमा लडाइँ हारिरहेको युक्रेनले अमेरिकासँग मल्टिपल लोन्च रकेट सिस्टम (एमएलआरएस) मागिरहेको छ । रुसले प्रभावकारी रूपमा उपयोग गरिरहेको लामो दूरीको आर्टिलरीलाई प्रतिकार गर्न यो सिस्टम उसलाई आवश्यक छ ।
तर यसो गर्दा लक्ष्मणरेखा नाघिने भनी रुसले चेतावनी दिने गरेको छ ।
‘रुसी भूमिमा प्रहार गर्न सक्ने रकेट सिस्टम हामी युक्रेनज पठाउँदैनौं,’ बाइडनले सोमवार पत्रकारहरूलाई बताए ।
अमेरिकामा बनेको एमएलआरएसका विभिन्न प्रकार छन् र सतनमा फरकफरक गोलीगट्ठा उपयोग गरिन्छन् । सबभन्दा लामो दायराले १८५ माइल परसम्म प्रहार गर्न सक्छ । तर अन्य रकेटहरू २० देखि ४० माइल परसम्म मात्र पुग्छन् ।
बाइडनले गरेको टिप्पणीको सटीक अर्थ निकाल्न नसकिएको भए पनि ह्वाइट हाउसले निकै लामो दूरीको क्षेप्यास्त्र नदिने नै भनिरहेको छ ।
बाइडनको टिप्पणी तर्कसंगत रहेको रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेभले बताए । रुसका शहरहरूमा आक्रमण भएमा रुसी सेनाले त्यस्तो आपराधिक निर्णय लिने केन्द्रहरूलाई तारो बनाउने उनको भनाइ छ ।