सोभियत संघको पतन भएको ३० वर्ष बितिसकेको भए पनि अमेरिकाले रुसलाई अझैसम्म आफूविरुद्धको जोखिमका रूपमा लिने गरेको छ ।
रुसमा गोरा जातिका मानिसको बाहुल्य छ र यो युरोपमा रहेको क्रिस्चियन मुलुक हो । यसका नेताहरू लोकतान्त्रिक विधिबाट छानिएर आउँछन् । तैपनि अमेरिका रुसलाई किन यति घृणा गर्छ ?
अमेरिकाले रुसलाई निरंकुश तानाशाहीका रूपमा हेरी उदारवादी लोकतन्त्रमाथिको जोखिमका रूपमा लिने गरेको कतिपयको मत छ ।
तर यो दाबी बकवासपूर्ण छ । अमेरिकाको स्वतन्त्रतालाई घृणा गरेर आतंकवादीहरूले आक्रमण गरेको भन्ने अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुशको दाबी जस्तै वाहियात तर्क हो यो ।
मानौं रुस रातारात उदारवादी लोकतन्त्र भएछ रे । त्यसपछि अमेरिकाले रुसलाई जोखिमका रूपमा लिन छोड्छ त ?
लिन छोड्छ भनी उत्तर दिने व्यक्तिले इतिहासमा ध्यान दिएकै छैन र उसले अन्तर्राष्ट्रिय सम्बन्धको वास्तविकता पनि बुझेको छैन ।
अमेरिका उदारवादी लोकतन्त्रको पैरवीकर्ता होला तर उसको जस्तै शासन प्रणाली भएको मुलुकलाई उसले शान्तिका साथ बाँच्न दिन्छ भन्न सकिँदैन ।
अन्तर्राष्ट्रिय सम्बन्धमा शान्तिका लागि वाशिङटनप्रति नतमस्तक हुनुपर्ने शर्त अमेरिकाले राख्ने गरेको छ ।
रुसप्रति अमेरिकाको घृणाको मुख्य कारण विचारधारा हैन भने के हो त ?
यसको उत्तर नेटोमा पाइन्छ । रुस शत्रु रहिरहेन भने नेटोको कुनै काम छैन ।
अनि नेटो नरहेमा अमेरिकी साम्राज्यले आफ्नो विश्वव्यापी स्वार्थ पूरा गर्नका लागि युरोपेली सेनाको उपयोग गर्न पाउँदैन ।
त्यति मात्र नभई रुसी जोखिमको अभावमा युरोपेलीहरूले अमेरिकालाई आफूकहाँ रहेका सैन्य अड्डा बन्द गर्न पनि लगाउँछन् ।
अनि अमेरिकाले युरोपको सुरक्षा प्रत्याभूतिकर्ताको भूमिका निर्वाह गर्न पाएन भने युरोपेली नेतृत्वमा उसको प्रभाव पनि घट्नेछ ।
अमेरिकी साम्राज्यले कुनै हालतमा पनि यसो हुन दिने छैन ।
आफूसँग विशाल सेना भए पनि अमेरिका युद्धमा प्रायः एक्लै जाँदैन । उसले आफ्ना साझेदारहरूलाई पनि युद्धमा सँगै लाने गरेको छ । विशेषगरी बेलायत, अस्ट्रेलिया र नेटोका सदस्य राष्ट्रहरू अमेरिकाको युद्धमा सहभागी हुने गरेका छन् ।
अमेरिकी साम्राज्यका लागि युद्ध सामूहिक खेल हो ।
त्यसैले युरोपमा रुसलाई जोखिमका रूपमा प्रस्तुत गरिरहँदा नेटोको अस्तित्व कायम राखिरहन पाइन्छ । वाशिङटनको खास तारो चीन हो ।
रुसलाई जिस्क्याएर अमेरिकी साम्राज्यले युरोपको सैन्य शक्ति अर्थात् नेटोको दुरुपयोग गर्न खोजिरहन्छ ।
नेटोको दुरुपयोग गर्दै अमेरिकी साम्राज्यले संसारभरि जोखिमको सिर्जना गर्ने गरेको छ । त्यस जोखिमबाट सुरक्षा आफूले दिने उसको प्रस्ताव रहन्छ ।
युरोपमा त्यो जोखिम रुस हो । एसियामा त्यो जोखिम उत्तर कोरिया र चीन हो । पश्चिम एसियामा इरान जोखिम हो ।
तर संसारका लागि सबभन्दा ठूलो जोखिम अमेरिका हो ।
निष्कर्षमा भन्नुपर्दा अमेरिकी नेतृत्वको नेटोलाई निरंकुश रुसले तेर्स्याउने जोखिमबाट लोकतान्त्रिक युरोपको प्रतिरक्षा गर्ने माध्यमका रूपमा प्रचारप्रसार गरिएको छ ।
तर वास्तविकता के हो भने नेटो अमेरिकी सेनाको युरोपेली विस्तार मात्र हो । यसले संसारभरि अमेरिकाको प्रभुत्व कायम गराउने उद्देश्य मात्र राखेको छ ।
चिनियाँ विश्लेषक नी मिङ्दाको विश्लेषण