१० साउन २०८३, आइतबार

पुटिनका विषयमा युरोपेलीहरूबीच विभाजन आएको हो ?

जेठ १७, २०७९
पुटिनका विषयमा युरोपेलीहरूबीच विभाजन आएको हो ?

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पश्चिमले गरेको साझेदारीमा विभाजनका रेखा कोरिन थालेका छन् । 

फ्रान्सेली अधिकारीहरू यसबारेमा खुलेर कुरा गर्न चाहँदैनन् । तर पेरिस र बर्लिन अनि अंग्रेजीभाषी र पूर्वी युरोपेलीहरूबीच यस विषयमा भिन्न दृष्टिकोण रहेको उनीहरू स्वीकार्छन् । 

अमेरिका र बेलायतका सञ्चारमाध्यमहरूमा पुटिनलाई हराउनैपर्छ र सबै रुसी सैनिकहरूलाई युक्रेनको भूमिबाट हटाउनैपर्छ भनी तर्क गर्ने गरिएको छ । अमेरिकाको बाइडन प्रशासनले पनि यस्तै कुरा गर्ने गरेको छ । 

तर फ्रान्सेलीहरू यो खतरनाक तथा आत्मघाती कदम भएको बताउँछन् । 

रुससँग प्रत्यक्ष युद्ध गर्नका लागि पश्चिम तयार छैन भने युद्धको विशाल लक्ष्य बनाउने अधिकार पनि उससँग रहँदैन भन्ने फ्रान्सेलीहरूको तर्क छ ।

यो पुटिनलाई खुशी बनाउने कुरा हैन । बरू के कुरालाई स्वीकार गरिएको हो भने युद्धहरू कि त एक पक्षको पूर्ण पराजयपछि कि त सम्झौताका आधारमा मात्र टुंगिन्छन् । 

युक्रेनको पूर्ण पराजय सहन नसकिने फ्रान्सेलीहरूको भनाइ छ । अनि फ्रान्सेलीहरूले युक्रेनलाई हातहतियार पनि दिइरहेका छन् । फ्रान्सले दिएको अत्याधुनिक बन्दूकले युक्रेनी सेनालाई युद्धमा फाइदा पनि गरिरहेको छ । 

तर पश्चिमको प्रत्यक्ष हस्तक्षेपविना रुसको पूर्ण पराजय लगभग असम्भव छ । त्यसैले पुटिनसँग वार्ता गरिरहनु महत्त्वपूर्ण भएको फ्रान्सेलीहरूको सोच छ । 

यसो नगर्दा युद्ध अनन्तकालसम्म लम्बिइरहन्छ । त्यसको गम्भीर परिणाम युक्रेन र बाँकी विश्वले समेत बेहोर्नुपर्छ । 

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले मस्कोलाई युक्रेनी भूभाग सुम्पिने प्रस्ताव गरेको भन्ने हल्लालाई फ्रान्सेली अधिकारीहरूले अस्वीकार गरेका छन् । युद्धविरामको शर्त युक्रेन सरकारले मात्र निर्धारण गर्न सक्ने फ्रान्सका अधिकारीहरूको भनाइ छ । 

म्याक्रोंले भूभाग सुम्पिने भनेको नभई युद्धविरामका शर्तहरू के हुन सक्छन् भनी खोज्न चाहेको बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले युद्ध टुंग्याउनका लागि युक्रेनले के स्वीकार गर्न सक्छ भन्ने विषयमा विभिन्न समयमा विभिन्न बयान दिने गरेका छन् । 

यस्तो अवस्थामा दुईवटा प्रश्न उठ्छन् ः १) म्याक्रों अहिलेसम्म किएभ किन नगएका हुन् ? २) सन् १९३० को दशकमा हिटलरलाई गरिएको जस्तो तुष्टीकरणका लागि पेरिसले पैरवी गरिरहेको भन्ने भाष्यको कठोर प्रतिकार फ्रान्सले किन गरिरहेको छैन ?

पहिलो प्रश्नको उत्तर दिनुपर्दा यसमा म्याक्रोंको घमण्ड आंशिक जिम्मेवार छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आफ्नो देशमा राजनीतिक विवाद भएपछि त्यसबाट ध्यान हटाउन किएभ गएको भन्ने विश्वास गर्दै म्याक्रों आक्रोशित भएका थिए । किएभ गएर केही ठोस उपलब्धि भए मात्र आफू जाने उनको भनाइ छ । 

म्याक्रों अहिले पनि त्यही अडानमा कायम छन् । मिडिया र विदेशीहरूको दबाबमा झुक्दै किएभ गएको भाष्य स्थापित नहोस् भन्नेमा उनी सचेत छन् । 

फ्रान्सेली सरकारका केही अधिकारीहरू चाहिँ यो त्रुटिपूर्ण व्याख्या भएको बताउँछन् । तर म्याक्रों राष्ट्रपतीय निर्वाचनमा व्यस्त भएर जान नपाएको कुरामा पनि उनीहरू जोड दिन्छन् । फ्रान्समा १२ र १९ जुनमा संसदीय निर्वाचन हुँदैछ । तर राष्ट्रप्रमुख भएका नाताले उक्त चुनावमा प्रचारप्रसार गर्नुपर्ने दायित्व म्याक्रोंमाथि छैन ।

दोस्रो प्रश्नको उत्तर दिनुपर्दा, पेरिसले तुष्टीकरणको भाष्यविरुद्धको प्रतिकार गर्नुपर्ने भन्ने कुरा नै जायज नभएको केही फ्रान्सेली अधिकारीहरूको कथन छ । अरू चाहिँ आफूहरूले गर्नुपर्ने जति सबै प्रतिकार गरिसकेको र फ्रान्सलाई जहिले पनि गाली गरिने इतिहास नै रहेको बताउँछन् । 

तर म्याक्रोंलाई आफू अमेरिकाको सेवक भएको जस्तो देखाउनु पनि छैन । वाशिङटनबाट स्वतन्त्र रहेको जस्तो देखाउँदा म्याक्रोंलाई फ्रान्सेली जनताको समर्थन प्राप्त हुन्छ । अनि यसले मस्कोसँगको संवादको ढोका पनि खुलै राख्छ (भलै त्यस्तो संवाद निरर्थक साबित भइरहेको छ) ।

सारांशमा भन्नुपर्दा फ्रान्समा दुईवटा कुरा भइरहेको छ । पहिलो, युरोपमा आइलागेको अभूतपूर्व संकटलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अरूभन्दा फ्रान्सको फरक धारणा छ । दोस्रो, युरोप आफैं रणनीतिक अगुवा बन्नुपर्छ र मस्कोसँग संवादको ढोका खुला राख्नुपर्छ भन्ने विषयमा म्याक्रों अडिग छन् ।

युरेसिया ग्रुप थिंकट्यांकका युरोप म्यानेजिङ डाइरेक्टर मुजताबा रहमानको विश्लेषण
 

salt training

कमेन्ट गर्नुहोस्