
पूर्व अर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही बस दुर्घटनामा घाइते भएकाहरूको प्रभावकारी उपचारको व्यवस्थापन गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
जनकपुरबाट भैरहवातर्फ आउँदै गरको लु२ख ३८४१ नम्बरको रात्रीकालीन यात्रुबाहक बस बिहान पौने ६ बजे हुलाकी सडकखण्ड अन्तर्गत रुपन्देहीको रोहणी खोलाको पुलबाट खोलामा खसेको थियो ।
सो यात्रुबाहक बस दुर्घटनाले स्तब्ध बनाएको उपाध्यक्ष पौडेलले बताएका छन् ।
दुर्घटनामा परी निधन हुनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
उनले भनेका छन्,'घाइते हुनुभएका सबैको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरुको प्रभावकारी उपचारको ब्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछु ।'
आइतवार बिहान पौने ६ बजे भएको दुर्घटनामा मृत्यु भएकामध्ये रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ का ६५ वर्षका राजेन्द्र पाण्डे, रुपन्देहीकै तिलोत्तमा योगिकुटीका ४६ वर्षका विष्णु पौडेल, बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का ४८ वर्षका कृष्ण प्रसाद बस्याल, रौतहट चन्द्रनिगाहापुरका २० वर्षीया दिनेश दास र भारतको जनकपुरग्रामका ४० वर्षका अरविन्द्र शर्माको पहिचान खुलेको रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।
दुर्घटनामा १ जना महिला सहित ९ जनाको मृत्यु भएको छ भने घाइते १५ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाइ छ ।
दुर्घटनामा २४ जना घाइते छन् । गाडीबाट ३३ जना यात्रुलाई उद्दार गरिएको थियो ।