युक्रेनको डोनबास क्षेत्रमा रहेको सेभेरोडोनेत्स्कमा रुस र युक्रेनका सैनिकहरूबीच भीषण लडाइँ चलिरहेको छ ।
रुसी सेनाको भारी आर्टिलरी प्रहारका सामु टिक्न नसकेर युक्रेनी सेना र टेरिटोरियल डिफेन्स इकाइहरू सानो समूह बनाएर पछि हटिरहेका छन् । उनीहरू सेभेर्स्की डोनेट्स नदीको किनार र लिसिचान्स्कतर्फ भागेका छन् । शहरमा विदेशी भाडाका सैनिक र नेस्नलिस्ट फोर्सहरू रुससँग लड्न आएका छन् ।
युक्रेनी सेनाले औद्योगिक क्षेत्रबाट मेटेलकिनोतर्फ प्रत्याक्रमण गरिरहेको छ । बोरोव्स्कोयेमा रहेका युक्रेनी सैनिकहरूको घेराबन्दी हुनबाट रोक्नका लागि उक्त प्रत्याक्रमण गरिएको हो । प्रत्याक्रमणको नेतृत्व जेलेन्स्कीको पिपुल्स सर्भेन्ट पार्टीकी सांसद मेरियाना बेजुग्लियाले गरिरहेका छन् ।
मेरियाना विदेशी भाडाका सैनिकहरूको इकाइका साथ शहरमा आइपुगेकी हुन् । उक्त इकाइले सेभेरोडोनेत्स्कमा खटिएका सैनिकहरूलाई छिन्नभिन्न हुनबाट बचाउन खोजेका छन् । अनि बोरोव्स्कोयेमा सेनाको घेराबन्दीलाई रोक्ने पनि उनीहरूको लक्ष्य छ ।
प्रत्याक्रमणका क्रममा युक्रेनी सेनाले उल्लेख्य क्षति बेहोर्नुपरेको थियो । तैपनि उनीहरूले रुसीहरूलाई सिरोटिनोको पश्चिमी भाग र लेस्नाया डाचाबाट पछि हट्न बाध्य बनाएका छन् ।
सेभेरोडोनेत्स्क शहरमा युक्रेनी सेनाले आवासीय क्षेत्रलाई नियन्त्रणमा लिएका छन् । त्यस्तै ग्वार्डेस्की एभेन्यु र आजोट औद्योगिक क्षेत्रको भूमिमा पनि उनीहरूको कब्जा छ । शहरका अन्य भागमा रुसी र डोनेत्स्क/लुगान्स्क जनगणतन्त्रका मिलिसियाहरूको कब्जा छ ।