
पुराना सफल अभिनेता सरोज खनालले फिल्म निर्देशनमा डेब्यू गरेका छन् । उनको निर्देशनमा फिल्म ‘बगान’को छायाँकन सकिएको छ । आइतवार चलचित्र विकास बोर्डको हलमा फिल्मको बारेमा जानकारी दिँदै ‘इन्ट्रो टिजर’ र पहिलो ‘तिम्रो सुन्दर आँखा’ बोलको गीत सार्वजनिक गरिएको छ ।
सुरेश वाग्लेको निर्माण रहेको फिल्ममा नयाँ र पुराना कलाकारको समिश्रण रहेको छ । फिल्ममा नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै सरोज खनाल स्वयंले छोटो भूमिका निर्वाह गरेका छन् ।
कार्यक्रममा बोल्दै निर्देशक खनालले आफूले दोस्रो खुडकिलो टेक्ने कोसिस गरिरहेको बताउँदै आफ्नो जीवनकालमा फिल्ममा अभिनय गरेर सिकेको ज्ञान र अनुभवलाई निर्देशनमा प्रयोग गर्ने प्रयास गरेको बताए । उनले आफूले निर्देशन गरेको फिल्मले समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरे ।
उनले भने, ‘मेरो फिल्मले ‘ए मेरो हजुर’, ‘कबड्डी’ले जस्तो रेकर्ड नराख्ला तर ए ! नेपालमा पनि यस्तो चलचित्र बन्छ है भनेर गर्व गर्न लायक फिल्म चाहिँ बनाएको छु ।’
फिल्म मनोरञ्जनको माध्यम भए पनि त्यसले समाजलाई केही सन्देश पनि दिनुपर्छ जस्तो लाग्ने बताउँदै उनले भने, ‘फिल्ममा मैले त्यही कोसिस गरेको छु ।’ फिल्म हेरेर हलबाट निस्कँदा दर्शकहरू एकपटक सोच्न बाध्य हुने बताए ।
फिल्ममा गौरीशंकर धुजूको डीओपी, उत्सव दाहालको छायाँकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भीएफएक्स तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।
साउन्ड मिक्सिङ मुकेश शाह र ब्याकग्राउण्ड स्कोर द एक्स ब्याण्डका शिव मुखियाको रहेको छ । नेपाली वेबसाइट डटकमको प्रस्तुति रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता अभिनेत्री करिश्मा मानन्धर हुन् ।
नेपालअघि नेपालीको बसोबास रहने विभिन्न देशहरूमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । अभिनयबाट सरोज खनालले दर्शकको जुन विश्वास र माया कमाएका छन्, त्यसैको आधारमा उनी निर्देशित फिल्ममाथि अपेक्षा गरिएको छ ।