
लगातारको वर्षाले संखुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर–दक्षिण सडक अवरुद्ध भएको छ ।
वर्षासँगै आएको पहिरोले मकालु गाउँपालिका–३ सम्माटारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनीयर दिपेश रजकले जानकारी दिए ।
शुक्रवार बिहान ७ बजे खाँदबारी–किमाथांका सडकखण्ड मकालु–३ कोसम्माटारमा पहिरो खसेको सडक अवरुद्ध भएको उनले बताए । सो क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ । संखुवासभामा २ दिनदेखि निरन्तर वर्षा भइरहेको छ ।
वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको सडक कार्यालयका प्रमुख रजकले बताए । पानी रोकिए पनि पहिरो हटाउन ४–५ दिन लाग्न सडक कार्यालयले जनाएको छ ।
सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालुको फ्याक्सिन्दासम्म मात्रै चलेका छन् । १ महिना बन्द भएको भोटखोला जाने सडक १ हप्ताअघि मात्र खुलाइएको थियो ।