२७ जेठ २०८३, बुधबार
विराटनगरमा ओली

गठबन्धन चुनावसम्मै कायम रहन्छ, नत्र धूलोपिठो हुन्छौं भन्ने उनीहरूलाई थाहा छ– ओली

गठबन्धन चुनावसम्मै कायम रहन्छ, नत्र धूलोपिठो हुन्छौं भन्ने उनीहरूलाई थाहा छ– ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन नहुँदा धुलोपिठो हुने भएकाले अहिले नै गठबन्धन नटुट्ने देखिएको बताएका छन् । 

गठबन्धन टुटाउन बल गर्नुपर्‍यो भनेर हल्ला चलेपनि एक्लै चुनावमा जाँदा धुलोपिठो हुने डरले उनीहरू गठबन्धन टुटाउन नचाहने ओलीले बताए ।

नेकपा एमाले विराटनगरले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले  आफूलाई साँढे र अरूलाई बाख्रासँग तुलना गरेका छन् । 

‘साढेसँग लड्न सक्दिन भनेर उनीहरूले गठबन्धन गरेका हुन्,’ ओलीले भने,‘गठबन्धनमै रहेका केहि दलहरुको हैसियत बाख्रा सँग लड्न सक्ने खालको छ ।’ 

भर्खरै सकिएको स्थानीय तहको चुनावमा एमालेको सबैको भन्दा मत राम्रो आएको समेत उनले दावी गरे । 

‘कांग्रेसको भन्दा एमालेको बढी छ,’ उनले भने,‘अरुको त हिसाब गर्नैपर्दैन । कांग्रेसको पनि गाँसगाँस जोडेर मात्रै त्यति भोट आएको हो । 

ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै आफ्नो हैसियत हेरेर मात्रै अरुको हैसियत नाप्न सुझाव दिए ।

‘कांग्रेसले घमन्ड नगरोस् नत्र एमालेकै हालत बनाइदिउँला भनेर एक जना नेताले भाषण गरेछन्,’उनले भने,‘ती नेताको हाइट कतिको छ भनेर हेरेको त घुँडा घुँडा मात्रै रहेछ ।’

एमाले अध्यक्ष ओली अर्थमन्त्री जनार्दन शर्मा माथि पनि खनिएका छन् । 

‘आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्‍याउँछु भनेर अर्थमन्त्रीले बजेट भाषणमा भन्नुभयो । यो हावादारी गफ हो,’ ओलीले भने,‘देशको मात्रै होइन जहाँसुकैको अर्थशास्त्रीलाई सोधेपनि यो लक्ष्य पुग्न सक्दैन । अर्थमन्त्री भएका व्यक्तिलाई यो विषयमा कसैले जानकारी गराएको हुनुपर्ने हो ।’

salt training

कमेन्ट गर्नुहोस्