
पाल्पाको रैनादेवीछहरा गाउँपालिकाका किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गरिएको छ ।
गाउँपालिका भित्रका ७१ जनाले हाते ट्रयाक्टर अनुदानमा बुझेका छन् ।
खेतबारी खनजोत गर्न र उत्पादन बढाउने उद्देश्यले ट्रयाक्टर वितरण गरिएको छ । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएको कृषि शाखा प्रमुख सुनिता पोखरेलले बताए ।
आधुनिक प्रविधिबाट खेती गर्न र खेतबारी खनजोतमा सुविधा हुने गरी हाते ट्रयाक्टर उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले बताए ।
उनी भन्छन्, ‘पछिल्लो समयमा जमिन बाँझो हुने समस्या छ, आगामी दिनमा गाउँपालिकाले कृषि प्रणालीमा परिवर्तन ल्याउने कार्यक्रम सञ्चालन गर्नेछ, कृषकले जमिनको उचित प्रयोग गरी उत्पादनमा जोड दिनुपर्यो, यान्त्रीकरण, ज्ञान सीपका लागि पालिकाले आवश्यक सहयोग गर्नेछ ।’
ठूलो ट्रयाक्टर भिरालो जमिनमा पुग्न समस्या हुने, खेतीयोग्य जमिन नबाँझियोस् र किसान आफैंले पनि हाते ट्रयाक्टर चलाउन सक्ने हुँदा यसप्रति कृषक आकर्षित भएका छन् ।