
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैंझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ–
बञ्चरेडाँडा ल्याण्डफिल साइटमा निर्वाध फोहोरको अन्तिम विसर्जन भएको छ ।बिहीबार बेलुका ७ बजेदेखि शुक्रबार बिहान १ बजेसम्म महानगरका प्रमुख बालेन्द्र शाहसँग प्रभावित क्षेत्रका वडाध्यक्षहरुसँग भएको सहमति अनुसार फोहोर ढुवानी र अन्तिम व्यवस्थापन कार्य भएको हो ।
शुक्रबार १५३ ट्रक फोहोर व्यवस्थापन भयो । साइटका इन्चार्ज ईञ्जिनियर सरकारदीप श्रेष्ठले भने, ‘सौहाद्र वातावरणमा फोहोर व्यवस्थापन भएको छ । स्थानीयबाट कुनै पनि खालको अवरोध वा रोकावट भएन । भोलिदेखि तालिकाबद्ध र पूर्ववत् काम गर्ने वातावरण बनेको छ ।’
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयताको सफल कार्यान्वयनका लागि अहिलेदेखि निर्वाचनमा जुट्नुपर्ने बताएका छन् ।
नेकपा एमाले मोरङ जिल्ला कमिटीद्वारा शुक्रवार आयोजित बृहत् कार्यकर्ता भेलामा उनले जनताको ठूलो त्याग र बलिदानबाट ल्याएको लोकतन्त्र संरक्षण गर्न आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा ल्याउन कार्यकर्ता अहिलेदेखि परिचालित हुनुपर्नेमा जोड दिए ।
००००
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर स्थित बाँधनजिक शुक्रवार बिहान सडक भासिँदा मृत्यु भएका दुवै पुरुषको सनाखत भएको छ ।
घटनापश्चात दमौली अस्पतालमा राखिएको शव मृतकका आफन्तजनले पहिचान गरेपछि सनाखत भएको हो । घटनामा परी मृत्यु हुनेमा गोरखा जिल्ला सिरानचोक गाउँपालिका–५ छोप्राक घरभई हाल आँबुखैरेनीमा बस्दै आएका ३५ वर्षीय केशव घिमिरे र मकवानपुर जिल्ला हेटौंडा नगरपालिका–७ निवासी ३३ वर्षीय हेमबहादुर भुजेल रहेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए ।
००००
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ । शुक्रवार २ बैंकबीच मर्जरमा जाने सम्झौता भएको हो ।
हिमालयन बैंकसँग १४ महिनाअगाडि नै गरेको मर्जर सम्झौता भाँडिएपछि इन्भेष्टमेन्टले मेगासँग नयाँ सम्झौता गरेर मर्जरमा जाने भएको छ ।
००००
देशको अर्थतन्त्र वैशाखसम्म पनि सुधार भएको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनासम्मको तथ्यांक हेर्दा अर्थतन्त्र अझै कमजोर हुँदै गएको देखिएको हो ।
गत महिना भन्दा विदेशी विनिमय सञ्चिति यो महिनामा करीब २१ अर्ब रूपैयाँले घटेको छ । यो अवधिसम्म आइपुग्दा महँगी करीब ८ प्रतिशत नजिक पुगेको छ ।
वैशाखसम्ममा महँगीदर ७.८२ प्रतिशत पुगेको छ । यो महँगी दर अहिलेसम्मकै बढी भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यस्तो महँगी गत वर्षको वैशाखमा जम्मा ३.६५ प्रतिशत मात्रै थियो । अघिल्लो महिना चैतसम्ममा भने ७.२८ प्रतिशत थियो ।
००००
सामाजिक सञ्जालमा नाबालिग तथा महिलाको भिडियोरतस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका ६ चोच्छे बस्ने २० वर्षीय बिकेश सोजुँ र खोटाङ ऐसेलुखर्क गाउँपालिका १ स्थायी वतन भई हाल काठमाडौं महानगरपालिका(१६ बालाजु बस्ने २० वर्षीया भोजकुमारी दाहाल रहेका छन् ।
००००
अर्थमन्त्री जनार्दन शर्मा र पूर्वका उद्योगी, व्यवसायीबीच आगामी आर्थिक वर्षको बजेटले पारेको प्रभावका बारेमा छलफल भएको छ ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुक्रवार भएको भेटमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिले आर्थिक वर्ष २०७९–८० को बजेटले वायर, घिउतेल र स्यानिटरी उद्योगमा पारेको प्रभावका बारेमा अर्थमन्त्री शर्मा समक्ष गुनासो राखेका थिए ।
त्यसक्रममा अर्थमन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुकभित्रै औद्योगिकीकरण विस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको बताए ।
००००
मुस्ताङमा दुर्घटनाग्रस्त तारा एयरको विमानको ककपिटमा रेकर्ड भएको अडियो रिकभर भएको छ ।
पोखराबाट जोमसोम जाँदै गर्दा भएको विमान दुर्घटनाका सम्बन्धमा छानबिन गर्नका लागि गठित आयोगले ककपिटमा भएको कुराकानीलाई ब्ल्याक बक्सबाट सफलतापूर्वक रिकभर गरेको हो ।
स्रोतका अनुसार दुर्घटनाग्रस्त विमानको ककपिट भ्वाइस रेकर्डर (ब्ल्याक बक्स) मा २० मिनेटसम्म संवाद रेकर्ड भएको भेटिएको छ ।
छानबिन आयोगले ककपिटमा भएको उक्त वार्तालापलाई डिकोड गर्न पठाएको छ । डिकोड हुनेबित्तिकै दुर्घटनाअघि विमानको ककपिटमा भएको कुराकानी सुन्न सकिनेछ ।
००००
साताको अन्तिम दिन शुक्रवार शेयर बजार १४.६४ प्रतिशतले घट्दा समेत २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सर्किट लागेकासहित ३ वटा कम्पनीका लगानीकर्ताले भने १० प्रतिशतले कमाएका छन् । शुक्रबार २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ ।
००००
प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् ।
उनले शुक्रबार गृहमन्त्री बालकृष्ण खाँणलाई मिटरब्याजी तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।
००००
गाडी भाडा घटेको एक सातामै फेरि बढेको छ ।बिहीवार साँझ इन्धनको मूल्य ७.८४ प्रतिशत प्रति लिटरमा बढेको कारण यातायात व्यवस्था विभागले अन्तरप्रदेश गाडी भाडा बढाउन अनुमति दिएको छ । बढेको गाडीभाडा शुक्रबारबाटै लागू भएको छ ।
००००
नेपाल विद्युत् प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात् ३६४ मेगावाट विद्युत शुक्रवारबाट भारत निर्यात गर्न शुरू गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत जेठ १९ गतेबाट भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दर बिक्री शुरू गरेको थियो ।