
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले ढंग पुर्याएर काम गर्दा सानो दल पनि मुख्यमन्त्री बन्ने बताएका छन् ।
प्रदेश सभा बैठकमा आइतवार नीति तथा कार्यक्रममाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
नेकपा एमाले एक्लैसँग ६८ सिट हुँदा पनि सरकारबाट बाहिरिनु परेको भन्दै मुख्यमन्त्री राईले एमालेप्रति व्यंग्य प्रहार गरे ।
‘ढंग नपुग्दा ठूलो दल पनि सरकारबाट बाहिरिनु पर्छ,’ उनले भने, ‘ढंग पुर्याएर काम गर्यो भने म जस्तो १० सिटेले पनि मुख्यमन्त्री पड्काउँदो रहेछ ।’
उनले अघिल्लो सरकारले नै ५ वर्षसम्मका लागि बजेट ल्याइसकेकोले पनि केही नयाँ योजना ल्याउन नसकिएको उनले बताए । अघिल्लो सरकारको दायित्व तिर्नुपरेका कारणले पनि कानूनको सीमामा रहेर मन्त्रालय विस्तार गरेको उनले बताए ।
आवश्यक परे थप मन्त्रालय पनि विस्तार गर्ने मुख्यमन्त्री राईको भनाइ छ । मुख्यमन्त्री राईले सांसदहरूलाई प्रस्तुत नीति तथा कार्यक्रमअनुरुप नै आगामी वर्षको बजेट आउने विश्वास दिलाए ।
सरकारबाट भएका कमीकमजोरी औँल्याउनु सकारात्मक भए पनि प्रदेश सरकारले केही गर्दै गरेन भन्नु पूर्वाग्रही हुने उनले बताए । ‘पदमा भएपछि एउटा भाषा र पदबाहिर भए अर्काे भाषा किन बोल्छौँ ?,’ मुख्यमन्त्री राईले भने ।