
नेपालकै पहिलो रेमिट्यान्स कम्पनी आईएमईले आफ्नो स्थापनाको २२ औं वर्ष प्रवेश गरेको छ ।
नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक र बैंक नेगारा मलेसियाबाट इजाजत प्राप्त आइएमई सन् २००१ मा आजकै दिन स्थापना भएको थियो ।
सानो स्केलमा फ्याक्स मेसिनको सहायताबाट सेवाको शुरुवात गरेको आइएमईले वित्तीय पहुँचबाट टाढा रहेका नेपाली नागरिकलाई रेमिटेन्सको माध्यमबाट वित्तीय पहुँच स्थापित गराउन सहयोगी भूमिका खेल्दै आएको आईएमईका अध्यक्ष चन्द्र ढकालले बताए ।
स्थापनाको २२ औं वर्षमा आईपुग्दा लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको रेमिटेन्स सेवामा नेपाली लगानी र ब्राण्डका लागि आइएमईले आफ्नो एउटा अलग र विशिष्ट पहिचान बनाएको छ ।
तत्कालिन समयमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले दुखले आर्जन गरेको रकम नेपालमा रहेका आफन्तसम्म पुर्याउनका लागि औपचारिक माध्यमको ठूलो अभाव थियो ।
औपचारिक प्रणालीमार्फत स्वदेश रकम भित्र्याउने कार्य निक्कै जोखिमयुक्त र चुनौतीपूर्ण थियो । त्यस्तो चुनौतीलाई चिरेर आईएमई स्थापना भएको अध्यक्ष ढकाल बताउँछन् ।
व्यवसायमा स्थायित्व, कर मार्फत राज्यलाई सहयोग र मुलुकभित्रै रोजगारीका अवसरहरूको सिर्जना लगायतका उद्देश्य लिएर आजभन्दा २२ वर्ष अघि आजकै दिनमा स्थापना भएको आइएमई रेमिटेन्स सेवाको पर्यावाची आइएमई गरौं भन्ने भनाइसहित आम नेपालीको जिब्रोमा झुण्डिएको छ ।

आम नागरिकको जीवनशैलीको अभिन्न अंगको रुपमा आज आइएमई स्थापित भएको अध्यक्ष ढकाल बताउँछन् ।
नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले आफ्नो स्थापनाको २२ औँ वर्ष प्रवेशको अवसरमा आइतवार राजधानी काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले उद्घाटन गरेको उक्त कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, अर्थ सचिव मधुकुमार मरासिनी, श्रम सचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललगायतले शुभकामना मन्तव्य दिएका थिए ।
आइएमई ग्रुपमा अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शमा पूर्व अध्यक्ष डा. राजेश काजी श्रेष्ठ , माइग्रेन्ट विज्ञ एवम् राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. गणेश गुरुङ, आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल र आइएमईका संचालक एवम् आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले पनि सम्बोधन गरेका थिए ।
अर्थमन्त्री जनार्दन शर्मा ‘ प्रभाकर’ले उद्घाटन गरेको उक्त औपचारिक कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले रेमिटेन्सलाई औपचारिक माध्यमबाट स्वदेश भित्र्याउन खोज्दा हुण्डी कारोबार चलिरहेको स्मरण गर्दै थुप्रै चुनौती पार गरेर रेमिटेन्स क्षेत्रलाई यहाँसम्म ल्याइपुर्याउन आइएमईले गरेको योगदानको प्रशंसा गरे ।
मन्त्री शर्माले रेमिटेन्सले ग्रामिण क्षेत्रको दुखी जीवनलाई सुखी तुल्याएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै ग्रुपका अध्यक्ष ढकालले आफैं वैदेशिक रोजगारीमा गएका व्यक्तिले वैदेशिक रोजगारीमै गएका व्यक्तिहरूको सेवाका लागि कम्पनी स्थापना गरी आज ४०/४५ हजारको संख्यामा रोजगारी सिर्जना गरेको जानकारी दिए ।
एउटा सानो कोठाबाट शुरूवात भएको आइएमईले बिगतमा भोगेका कैयन जोखिम एवम् चुनौतीहरूको स्मरण गर्दै अहिले आइएमई रेमिटेन्सको पर्यावाची बनेको देख्दा आफू र आफ्नो टीम प्रशन्न रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य सचिव शंकरदास बैरागीले ज्ञान, सीप र अनुभवले विशेष अर्थ राख्दछ भन्ने कुराको नमुना आइएमई रहेको बताउँदै रेमिटेन्सलाई औपचारिक प्रणालीमार्फत नेपाल भित्र्याउन थप सहकार्य गर्न सकिने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ सचिव मरासिनीले आइएमईले रेमिटेन्स संस्कृतिमा सुधार ल्याएको बताउँदै एउटा आइडियाले संसार बदल्ने सक्ने बताए ।
सम्बोधनका क्रममा उनले भने, गाउँगाउँमा आइएमई संस्कृति विकास भएको छ अव यसरी आएको पैसालाई उत्पादनशील क्षेत्रमा रुपान्तरण गर्नु महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै श्रमसचिव अर्यालले पाँच हजार श्रमिक रहेका ठाउँमा आफ्ना सेवाकेन्द्र स्थापना गर्न आइएमई व्यवस्थापनलाई सुझाव दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले रेमिटेन्ससँग सम्बन्धित विभिन्न डाटा प्रस्तुत गर्दै आइएमई परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै माइग्रेन्ट विज्ञ एवम् राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. गणेश गुरुङ्ले आफुले आइएमईलाई प्रसव बेदनादेखि नै चिन्दै आएको बताउँदै आफु नै डुबेर कंगाल हुन सक्ने अवस्थासम्मको जोखिम मोलेर ढकाल दाजुभाइले आजभन्दा २२ वर्ष अघि आइएमई स्थापना गरेको उल्लेख गरे ।
एक प्रसंगमा डा. गुरुङले अफ्रिकालगायतका देशहरूमा रेमिटेन्स सेवाका लागि आइएमईको जस्तै सेवा कपी गरिएको जानकारी दिँदै ढकाल दाजुभाई र उनीहरूले नेतृत्व गरिरहेको आइएमई ‘फादर अफ रेमिटेन्स’ भएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष डा. राजेश काजी श्रेष्ठले आजभन्दा २२ वर्षअघि आइएमईको उद्घाटन कार्यक्रममा आफु जान आनाकानी गरेको स्मरण अहिले आइएमईको यो फैलिँदै यो स्वरूप देखेर आफुलाई खुशी लागेको बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवालले सन् १९९४ मा क्षेत्रपाटीमा एउटा सानो ग्रोसरी संचालन गरेको व्यक्ति तीन दशक नपुग्दै यो अवस्थामा आइपुग्नु उद्यमशीलताको एक विशिष्ट नमुना भएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सहसंस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले अवसरको खोजीमा नेपाली यूवा विदेशिन थालेसंगै उनीहरुले रगत पसिना बगाएर आर्जन गरेको रकम सुरक्षित तवरले आफन्तको हातसम्म पुर्याउन एउटा माध्यम चाहिएको स्मरण गरे ।
उनले भने,‘आफ्नो दुःखले आर्जित रकमसंग मान्छेको सपना गाँसिएको हुन्छ, खुसी जोडिएको हुन्छ । त्यही सपनालाई बास्तविकतामा परिणत गर्न, खुसीलाई यथार्थमा बदल्न र विश्वासलाइ सार्थक तुल्याउन आजभन्दा २२ वर्ष अघि आजकै दिन आइएमईको जन्म भएको हो ।’
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै आइएमईका संचालक एवम् आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले मुलुकका खास खास अप्ठ्याराहरूमा आइएमईले आफ्नो सेवालाई प्रभावकारी ढंगले संचालन गरेको सम्मान स्वरूप एउटा भरपर्दो ब्राण्डको रूपमा स्थापित भएको बताए ।

आईएमई लिमिटेडको फैलावट
नेपालको पहिलो रेमिटेन्स सेवा प्रदायकको रूपमा स्थापित कम्पनी २२ वर्षको अवधिमा बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जनका क्षेत्रहरूमा समेत आफ्नो लगानी विस्तार गर्दै आइरहेको छ ।
राज्यलाई सबैभन्दा बढी करमा योगदान गरे वापत लगातार तीन पटकसम्म नेपाल सरकारबाट सीआइपी सम्मान प्राप्त यस कम्पनी स्वदेशी एवम् विदेशी गरी दर्जनौं संघ/संस्थाबाट सम्मानित भइसकेको छ ।
प्रत्यक्ष तथा अप्रत्यक्ष गरी हजारौँको संख्यामा रोजगारी सिर्जनामा सफल आइएमईलाई आम नेपालीहरूले एउटा भरपर्दो र विश्वसनीय ब्राण्डको रूपमा हेर्दै आएका छन् ।
आइएमईको स्थापनापछि औपचारिक संजालमार्फत आप्रवाह हुने रेमिटेन्सको मात्रा ह्यवत्तै बढेको देखिन्छ । रेमिटेन्सले देशको खास खास अप्ठ्यारा अवस्था जस्तै :– भुकम्प नाकाबन्दी जस्ता समयमा महत्त्वपुर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
रेमिटेन्स आयातको मुख्य स्रोत हुनुका साथै विदेशी मुद्राको संचितिको मुख्य स्रोत पनि हो । आइएमईले समय सापेक्ष र अत्याधुनिक प्रविधिको माध्यमबाट डिजिटल सेवा प्रदान गर्न आइएमई पे मोवाइल वलेटको संचालन गरिरहेको आइएमई पे वालेटमा हाल ३० लाखभन्दा धेरै प्रयोगकर्ताहरुले रियल टाइम डिजिटल भुत्तानी तथा रेमिटेन्स सेवाको लाभ लिइरहेको कम्पनीले जनाएको छ ।
कम्पनीले सेवा शुभारम्भको २२औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय ३० आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव ३५ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।