०४ असार २०८३, बिहीबार

वेगनासतालदेखि लमजुङको भोर्लेटार जाने बाटोमा स्थानीयको विरोध सभा

वेगनासतालदेखि लमजुङको भोर्लेटार जाने बाटोमा स्थानीयको विरोध सभा

पोखराको पर्यटकीय क्षेत्र वेगनास तालदेखि सुन्दरीडाँडा हुँदै भोर्लेटार जाने बाटो मर्मतसम्भारका लागि सम्बन्धित निकायले चासो नदिएको भन्दै पोखरा–३१ का स्थानीयवासीले विरोध जनाएका छन् । उनीहरूले आज करीब एक घण्टा सडक अवरुद्ध गरेका थिए । 

उनीहरूले उक्त सडक खण्डको माझीकुना चोकमा जम्मा भएर बाटो अवरुद्ध गर्दै विरोध सभा गरेका थिए । बाटोको समस्या सुनुवाइ नभइञ्जेलसम्म विरोध गरिरहने भन्दै सम्बन्धित निकायप्रति आक्रोश व्यक्त गरेका थिए । उनीहरूले सामूहिक दबाब अभियान सञ्चालन गर्ने विषयमा पनि छलफल गरे । उक्त विरोध सभामा करीब २०० जना स्थानीयवासी जम्मा भएका थिए । 

‘गण्डकी प्रदेशको राजधानी पोखराकै महत्त्वपूर्ण पर्यटकीय क्षेत्र सडक ठाउँठाउँमा खाल्डाखुल्डी, पहिरो र वर्षाको भेलले क्षतविक्षत छ, सम्बन्धित निकायले किन ध्यान दिँदैन, अब कारण खोज्नुपर्ने भयो,’ स्थानीय दामोदरभक्त थापाले भने । 

वेगनास ताल क्षेत्रमा घुम्न आएका आन्तरिक तथा वाह्य पर्यटक माझीकुना जाने भन्दै दैनिक यही बाटो ओहोरदोहोर गर्छन् । ‘बाटो मर्मतका लागि सम्बन्धित निकाय धाएको वर्षौं भइसक्यो, तर सुनुवाइ भएन त्यसैले सामूहिक विरोध गर्नुपर्ने भयो,’ उनले भने । 

यो बाटो लमजुङ जिल्लाको मुख्य बजार भोर्लेटार जाने मुख्य वैकल्पिक सडक पनि हो । राजा महेन्द्रकै पालादेखि यो बाटो सञ्चालनमा आएको हो । 

पोखरा महानगरपालिका–३१ का अध्यक्ष ढकनाथ कँडेलले अर्को जिल्ला जोड्ने बाटो भएकाले पनि वडा वा प्रदेश सरकार कसको जिम्मेवारीमा पर्छ भन्ने स्पष्ट नभएको उनको भनाइ छ । ‘स्पष्ट आधार नभएकोले पनि स्थानीयले चाहेर पनि बाटोको हालत सुधार गर्न सकेका छैनन् । अब भने हामी आँखा चिम्लेर बस्ने छैनौँ,’ उनले भने । 

बाटो मर्मत गर्नुपर्ने स्थानीय सामाजिक संघसंस्थाको निवेदन अघिल्ला वर्षहरू पनि पटकपटक वडा, महानगर र प्रदेश सरकारमा परेको छ । 

‘पछिल्ला वर्षहरूमा पर्यटकको तीव्र आगमन छ, तर बाटोघाटोको दयनीय अवस्थाले व्यापार व्यवसाय समेत चौपट हुने अवस्था आयो,’ स्थानीय व्यवसायी सुरेश लामिछानेले भने, ‘त्यसैले सामूहिक दबाब अभियान स्वरुप विरोध गरेका हौं ।’

विरोध सभामार्फत् दामोदरभक्त थापाको अध्यक्षतामा वेगनासताल तालबेसी बाटो निर्माण उपभोक्ता समितिसमेत चयन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्