काठमाडौं, ६ साउन– शक्तिमा रहेका मानिसलाई पनि आफ्नो जवानी फर्काउन कति उत्कट चाहना हुन्छ भन्ने विषयको पछिल्लो उदाहरणका रुपमा विवादित बनेका छन् रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अनौपचारिक रुपमा गोप्य भेटवार्ता गरेको भनेर आलोचना भइरहेका बेला पुटिनबारे फेरि अर्को विवादास्पद रहस्य खुलेको छ ।
उनी आफ्नो पुरुषत्व बढाउन एक मृगको रगतले नुहाउने गरेको तथ्या बाहिर आएको हो । उक्त मृग हो, संरक्षण समूहमा रहेको बाह्रसिंगा ।
६४ वर्षका पुटिन बाह्रसिंगाको सिङबाट निस्कने रगतले नुहाउन अल्ताई पहाडमा जाने गरेको तथ्य बाहिर आएको । उनले एकचोटी नुहाउन बाह्रसिंङ्गाको ७० वटा सिङ काटिने गरिएको समाचारमा जनाइएको छ ।
समाचार सार्वजनिक भएपछि पशु अधिकारकर्मीहरुले पुटिनको चर्को आलोचना गरेका छन् ।
त्यसो त यस्तो परम्परा रुसी समाजमा धेरै समय अघिदेखि प्रचलनमा थियो । यो परम्पराअनुसार बारहसिङ्गाका सिङ काटेर रगत जम्मा गरिन्छ । यो रगतलाई बोतलमा भरेर बिक्री समेत गरिन्थ्यो । रुसी समाजमा यो रगतले नुहाएमा पुरुष हर्मोन टेस्टोस्टेरोन बढ्छ भन्ने मान्यता छ ।
तर पशु अधिकारकर्मीको प्रयास र सरकारी कानूनले गर्दा सर्वसाधारण व्यक्ति अहिले बाह्रसिङ्गाको रगतले नुहाउन पाउँदैनन् ।
तर राष्ट्रपति पुटिनका लागि भने त्यो असम्भव हुने कुरै भएन् । यसअघि सन् २०१५ पनि पुटिनले साइबेरियाको यात्राका क्रममा यसै रगतले नुहाएको समाचार बाहिरिएको थियो ।