×

NMB BANK
NIC ASIA

तराईका जिल्लामा बयान फेर्दै बलात्कारपीडित महिला

कात्तिक २०, २०७४

NTC
Premier Steels


जनकपुर ६ साउन —
घटना १
सामुहिक बलात्कार
महोत्तरीको औरहीमा व्यूटीपार्लरको सानो व्यवसाय सञ्चालन गर्ने २० वर्षिया एक यूवतिलाई ४ जना यूवा २८ जेष्ठ २०७४ मा सामुहिक बलात्कार गरे । व्यवसाय बन्द गरी साँझ घर तर्फ गईरहेको वेला हालको औरही गाउपालिका २ स्थित औरही देखि फुलवरीया गाऊँ तर्फ जाने बाटो सडकसंग जोडिएको जोतेको खेतमा ती यूवाहरुको समुहले यूवतीलाई लडाए । पीडित महिला रोई कराई गर्दा पनि जवरजस्ती कुटपिट गरि पालै पालो सामुहिक रुपमा बलात्कार भएको महोत्तरी प्रहरीको भनाई छ ।

घटना भएकै दिन घटना स्थलमै प्रतिवादीहरु मध्येका एक सुनिल साहलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लियो । पक्राउ परेका प्रतिवादीलाई प्रहरीको नियन्त्रणबाट मुक्त गराउन स्थानीयहरुले घटना स्थलमा खटिएका प्रहरीलाई घेराउ गरि ढुंगा मुढा समेत गरे । स्थिती नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाइ फायर समेत गर्नुपर्यो ।
स्थानीयहरुले ती आरोपित व्यक्तिलाई आफ्नो जिम्मा लिई आफैं भौतिक कारवाही गर्न खोजेका थिए ।
घटना भएको बाह्रौं दिनमा महोत्तरी प्रहरीले आरोपित चारै जना प्रतिवादीहरुलाई पक्राउ गरी महोत्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गर्यो ।

महोत्तरी जिल्ला अदालतका न्यायाधीश दिपक राज पन्थको एकल ईजलाशले २५ अषाढ २०७४ मा जवरजस्ती करणी गरेको घटनामा संलग्न चारै जना प्रतिवादीहरुलाई पुर्पक्षको लागी जलेश्वर कारागार चलान गर्न आदेश गरे । अदालतको आदेश पश्चात प्रतिवादीहरु औरही गाउपालिका —२ का सुनिल कुमार साह, सुरेश प्रसाद यादव, रमेश पंजियार र अनिकेत कुमार यादव जलेश्वर चलान गरिएका छन् ।

घटना २
बालिका बलात्कृत

२२ अषाढ २०७४ मा एक ९ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरी गौशाला १२ लक्ष्मिनियाका ४० वर्षिय राम नरेश शर्मालाई प्रहरीले गिरफ्तार गर्यो ।

पीडित वालिकालाई फकाइ बर्दिवास स्थित खहरे खोलाको खोल्सीमा लगेर बलात्कार गर्दै गरेको वेला स्थानीय केहि बालबालिकाहरुले देखेर ढुंगा हान्दा आरोपी भागेको र घटनाको दुई दिन पछि मात्र ति वालवालिकाले अभिभावकलाई घटना वारे भनेपछि अभिभावकको उजुरीको आधारमा आरोपीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयय महोत्तरीले जानकारी दियो ।

आरोपीलाई नियन्त्रणमा लिई पीडित र पिडक दुवैको मेडिकल जाँच गराई मुद्दा समेत दर्ता भई अनुसन्धान सुरु भईसकेको महोत्तरी प्रहरीको भनाई छ । हाल पीडित वालिकाको अवस्था सामान्य रहेको छ ।

घटना ३
पीडित महिला नै अदालतमा ‘होस्टाईल’

१६ मंसिर २०७३ मा जनकपुरको आदर्श होटेलमा काम गर्ने एक जना ३५ बर्षिया महिलालाई भारतीय नागरिकले बलात्कार गरे । उक्त होटेलमा विगत २ बर्ष देखि सरसफाईको काम गर्दै आएकी ती महिलालाई होटेलको तेस्रो तल्लामा रहेको कोठा नं. ३०७ मा कोठा सफाई गर्न पुगेको अवस्थामा प्रतिवादी भारतीय नागरिक साविर खानले बलात्कार गरेका थिए ।

पक्राउ प्रतिवादी साविर खानले बयान गर्दा जनकपुरको होटल आदर्शमा निजले काम गर्ने कम्पनी मुस्कान गोल्डेन वर्कले लगाएको सेल मेलामा सामानहरु मिलाई सेल लगाएको अवस्थामा सोही होटेलमा सरसफाईको काम गर्ने ती महिलासँग चिनजान भई जिस्काउँदा ती महिला हाँस्ने गरेको र घटना भएको दिन प्रतिवादीको मनमा यौन इच्छा जागेपछि होटेलको कोठा बन्द गरेर ती महिलालाई बलात्कार गरेको कुरा प्रहरीसँगको बयानमा प्रतिवादी साविर खानले स्वीकार गरेका छन् ।
अनुसन्धानको क्रममा पप्पु यादव र राजेश्वर प्रसाद साहले कागज गर्दा घटना भएको मिति र समयमा होटेल आदर्शमा काम गर्ने ती पीडित महिला रुँदै कराउँदै तल काउन्टरमा आएकी तथा ती पीडित महिलाले लगाएकी कुर्ता समेत च्यातिएको देखिएको बताएका थिए ।

यति मात्र होइन विजय कुमार भगत, जयकुमार यादव र मनोज कुमार यादव समेतले बयान कागज गर्दा ती महिलालाई बलात्कार गरेको बताइएको छ । बलात्कार भएको भन्ने कुरा ती मेडिकल रिपोर्टबाट पुष्टि हुन सकेन ।
पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट कुनै घाउ खत वा संवेदनशिल अंगमा कुनै प्रकारको चिन्ह नदेखिएको भएपनि पीडित बर्ष ३५ कि विवाहित महिला हुन भन्ने देखिँदा सो परीक्षणको सम्बन्धमा अदालतले थप विवेचना गरेन ।

किटानी जाहेरी दरखास्त, प्रतिवादीको मौकाको बयान र मौकामा कागज गर्ने व्यक्तिहरुको भनाई लगायतका मिसिल संलग्न कागज प्रमाणहरुको आधारमा ती प्रमाणहरुको अध्ययन तथा मुल्याङ्कनबाट यी प्रतिवादी निर्दोष छन् भन्न मिल्ने नभई कसुरदार हुन भन्ने विश्वास गर्ने पर्याप्त र मनासिव आधार प्रमाण रहे भएको पाइयो भन्दै धनुषा जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायको इजलासले ६ पुष २०७३ मा गरेको आदेशबाट प्रतिवादी भारतीय नागरिक खानलाई जलेश्वर कारागारमा थुनामा पठाइयो ।

उक्त घटनामा टर्निङ्ग प्वाईन्ट के थियो भने जनकपुर अञ्चल अस्पतालबाट गरिएको पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा बलात्कार नभएको पाइएको थियो । तर, नेपाल प्रहरीको केन्द्रिय प्रहरी फोरेन्सिक विज्ञान प्रयोगशालामा गरिएको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट बलात्कार गरिएको सन्दर्भमा पोजिटिभ रिपोर्ट आएको थियो । अर्थात ती पीडित महिला बलात्कृत भएको काठमाण्डौको नेपाल प्रहरीको फोरेन्सिक रिपोर्टले पुष्टि गरेको पाइयो ।

पीडित महिलाको जाहेरी, तत्काल प्राप्त प्रमाणहरु, बयान कागज आदिका आधारमा प्रतिवादी भारतीय नागरिक साविर खानले बलात्कार गरेको होईन वा निर्दोष छन् भन्न मिल्ने नभई कसुरदार हुन भन्ने विश्वास गर्ने पर्याप्त र मनासिव आधार रहेको भन्दै अदालतले थुनामा कारागार पठाएको अवस्था छ ।

तर, उक्त घटनामा सबैभन्दा आश्चर्यको कुरा के थियो भने अदालतमा पछि आएर पीडित महिलाले नै बयान गर्दा ती प्रतिवादीले आफुलाई बलात्कार गरेकै होईन भनेर बयान दिएका छन् ।

१२ पुष २०७३ मा धनुषा जिल्ला अदालतको न्यायाधीश ओमकार उपाध्यायको बन्द इजलासमा गरिएको बकपत्रमा ती पीडित महिलाले नै प्रतिवादीलाई जोगाएकी छन् । प्रतिवादी साविर खानले आफुलाई जवरजस्ती करणी गरेकै छैन, ती प्रतिवादीले आफुसँग हँसी मजाक मात्र गर्ने गरेको, रिसले प्रतिवादी विरुद्ध जाहेरी दिएको, आफुले लगाएको कुर्ता पहिले देखि नै च्यातिएको भन्दै पीडित महिलाले नै बयान पल्टिएको देखिन्छ ।

यसरी हेर्ने हो भने बलात्कारका मुद्दामा जाहेरी दिने पीडित महिला पनि अदालतमा पछि गएर कुरा फेर्ने गरेकी छन् । एक जना कानुन व्यवसायीका अनुसार त्यस्ता घटनाहरुमा पीडित महिलालाई प्रतिवादीको तर्फबाट ठुलो रकमको प्रस्ताव गरिएको हुनुपर्दछ, र सोही प्रस्ताव अनुसार रकम समेत पाएको सम्भावना हुन्छ ।
यद्यपि उक्त मुद्दाको निरन्तर सुनुवाई अदालतमा जारी नै रहेको अवस्थामा प्रतिवादी निर्दोष सावित भई रिहा हुने हो वा बयान उल्टाउने पीडित महिला र प्रतिवादी दुवै दोषी ठहर हुने हो त्यो भने हेर्न बाँकी छ ।

घटना ४

बलात्कार गरी महिलाको हत्या प्रयास

‘१० पुष २०७३ मा राति १ बजेको समयमा म आफ्नो घरमा छोरा छोरीहरुसँग सुतिरहेको थिएँ । सोही समयमा धनुषाधाम नगरपालिका वडा नं. २ बस्ने शंकर भण्डारी मेरो घरको पछाडी पट्टीको ढोकामा आई मेरो नाम लिई कराउँदै मलाई बोलाउँदा म सुतेको कोठाबाट बाहिर निस्की के भएको छ ? किन यति रातिको समयमा बोलाएको हो भनि घर पछाडीको ढोका खोली बाहिर निस्किदा भण्डारीले एक्कासी मेरो मुखमा गम्छाले च्यापी मेरो घरको पछाडी रहेको फुलगेन साहको खेतमा लगि मलाई जवरजस्ती गरी मेरो टाउको लगायत शरीरको विभिन्न भागहरुमा धारिलो हतियार र लाठीले प्रहार गरी मरणासन्न हुने गरी कुटपिट गरी मरेको ठानेर सोही खेतमा छाडी भागी फरार भएको हुँदा प्रतिवादी शंकर भण्डारीलाई आवश्यक कारवाही गरि पाऊँ’ भन्दै एक पीडित महिलाले जवरजस्ती करणी तथा ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गराएकी छन् ।

प्रहरीले गरेको घटनास्थल मुचुल्कामा समेत घटनास्थलमा जमिनमा रातो रंगको शिशाका चुराहरु फुटेर छरिएको अवस्थामा रहि भुँई जमिनमा संघर्षका चिन्हहरु जस्तो रहेको, महिलाको कपालमा लगाउने सुन्तला रंगको जुरा उक्त स्थानमा पाइएको थियो ।

उक्त घटनाका प्रतिवादी शंकर भण्डारी हालसम्म फरार छन् । प्रहरी सहायक निरीक्षक सुरेश बहादुर बोहराले ४ अषाढ २०७४ मा इलाका प्रहरी कार्यालय धनुषाधामलाई बुझाइएको पत्रमा समेत ती प्रतिवादीको घर ठेगानामा गई खोज तलास गर्दा हालसम्म फेला नपरेको बताइएको छ ।

घटना ५

प्रतिवादी फरार

‘१२ पुष २०७३ मा मेरो माईली छोरी घाँस लिन गएकोमा घाँस काटी छोरी बेलुका अबेरसम्म पनि घरमा फर्की नआएपछि छोरी खोज तलास गर्दै जाने क्रममा धनुषा सिनुरजोडा गाविस वार्ड नं. ८ स्थित रहेको सरसा चौरीको आँपको बगैचामा बेहोस अवस्थामा फेला पर्यो । प्राथमिक उपचार गराउँदा होसमा आएपछि निज छोरीलाई सोध्दा सिनुरजोडा ८ बस्ने नुरे राईनले नम्बर थाहा नभएको मोटरसाईकलमा चढी मेरो छोरी घाँस काटिरहेको ठाउँमा आई डर, धाक, धम्की देखाई छोरीले लगाएको सलले मुख थुनी हात बाँधी आँपको बगैचामा लगि बलात्कार गरेको भन्दै’ प्रहरीमा पीडित छोरीका बुवाले जाहेरी दर्ता गरे ।

ती पीडित महिलाको जनकपुर अञ्चल अस्पतालमा गराइएको स्वास्थ्य परीक्षणबाट बलात्कारको पुष्टि भएन । उक्त घटनाका प्रतिवादी नुरे आलम राईन अहिले पनि फरार रहेका छन् ।

घटना ६
नावालकद्वारा नावालिकालाई बलात्कार

‘मेरो करिब १४ बर्ष अगाडी एक जना व्यक्तिसँग प्रेम विवाह भई १ छोरा र १ छोरीको जन्म भएको छ । हामीहरुको आर्थिक अवस्था कमजोर रहेको र श्रीमान्ले समेत हेरचाह छोडेकोमा म गाउँ टोलको घर घरमा गएर गृहिणीको काम गर्दै आएकी छु । काम गर्न जाने क्रममा ३१ बैशाख २०७४ का दिन विहान ६ बजेको समयमा म आफ्नो छोरीलाई डेरा कोठामा राखि कामको लागि बाहिर गएकोमा छोरी कोठामा बसी टिभी हेरिरहेको अवस्थामा अन्दाजी ११ बजेको समयमा जनकपुर उपमहानगरपालिका वडा नं. १ मा बस्ने १६ बर्षिय रमेश कुमार साहले मेरो कोठामा गई मेरो छोरीलाई बलात्कार गरेको हुनाले प्रतिवादी साहलाई खोज तलास गरी कानुन बमोजिम कारवाही गरी पाऊँ’ भन्दै ती पीडित महिलाले जाहेरी दिएकी छिन् ।

जनकपुर अञ्चल अस्पतालबाट बलात्कृत भनिएका महिलाको स्वास्थ्य परीक्षण गराउँदा बलात्कारको पुष्टि हुन सकेन । पक्राउ परेका प्रतिवादी रमेश कुमार साहले अनुसन्धानका क्रममा प्रहरी समक्ष गरेको बयानमा कसुर स्वीकार गरेका छन् ।

धनुषा जिल्ला अदालतका न्यायाधीश दीपक खनालले उक्त मुद्दाको निरन्तर सुनुवाई गर्दैै ११ अषाढ २०७४ मा गरेको फैसलाबाट प्रतिवादी रमेश कुमार साहलाई कसुरवार ठहर गर्दै ५ बर्ष कैद सजाय तोकेको छ ।
जनकपुर अञ्चल अस्पतालबाट निज प्रतिवादी साहको उमेर परीक्षण भई आएको प्रतिवेदन समेतको आधारमा निजको उमेर १५ बर्ष कायम हुन आएको हुँदा प्रतिवादीलाई ५ बर्ष कैद र पीडितलाई प्रतिवादीबाट ५० हजार रुपैयाँ क्षतिपुर्ती भराई दिन अदालतले फैसला सुनायो ।

Muktinath Bank

अञ्चल अस्पतालबाट प्राप्त परीक्षण प्रतिवेदन समेतका आधारमा प्रतिवादीको उमेर १५ बर्ष यकिन भई सोही बमोजिम बालबालिका सम्बन्धि ऐन २०४८ बमोजिम सजाय ठहर भएको हुँदा निजलाई निज पक्राउ परेको मिति देखि १ बर्षसम्म बाल सुधार गृह सानोठिमी भक्तपुर पठाउनु र सो पश्चात बाँकी कैद अवधिमा महोत्तरीको जलेश्वर कारागार कार्यालयमा थुनामा पठाउनु भनेर फैसला गरिएको छ ।

घटना ७

नाबालक समेत बलात्कृत

१४ बैशाख २०७४ मा जनकपुरको लोहनामा एक जना नावालकलाई भारत विहार सितामढी हरलाखी ८ बस्ने सहवाज राजाले अप्राकृतिक मैथुन तथा जवरजस्ती करणी गरेका थिए ।

खेलीरहेको अवस्थामा धारामा पानी खान जाँदा ती प्रतिवादी भारतीय नागरिकले पीडित ६ बर्षको बालकलाई समातेर बलात्कार गरेका थिए । पीडितको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा अप्राकृतिक मैथुन गरी बलात्कार भएको पुष्टि भयो । धनुषा जिल्ला अदालतका न्यायाधीश दीपक खनालको इजलासले ७ अषाढ २०७४ मा प्रतिवादी सहवाज राजालाई ६ बर्ष कैद सजाय र पीडित बालकलाई ५० हजार रुपैयाँ क्षतिपुर्ती दिलाउने फैसला सुनायो ।

उक्त घटनामा पीडित बालक हुनुका साथै पीडक भारतीय नागरिक पनि १५ बर्ष उमेरकै भएका कारण १ बर्षका लागि बाल सुधारगृह भक्तपुर पठाउने र १ बर्षबाट बाँकी कैद अवधि ५ बर्ष जलेश्वर कारागारमा थुनामा पठाउने भनि फैसला सुनाएको थियो ।

घटना ८

पटक पटक बलात्कृत

‘म जाहेरवाली सामान्य परिवारको महिला हुँ । पति बैदेशिक रोजगारको शिलशिलामा विदेशमा छन् । १ चैत्र २०७३ मा विहान १० बजेको समयमा मेरो छोरीलाई दिसा लागेकोले आफ्नो साथीहरुसँग दिसा गर्न गएको बेला प्रतिवादी मध्येका धनुषाको साविक लोहनाका सहदेव मण्डलले मेरो छोरीलाई प्रसादी दिन्छु भनि प्रलोभनमा पारी शिवधर मण्डलको फुसको घरमा लगि हाथमुख बाँधी जवरजस्ती करणी गरे । ६ चैत्र २०७३ का दिन प्रतिवादी मध्येका चलित्रा भन्ने रामचलितर मण्डलले मेरो छोरीलाई सोही स्थानमा लगि जवरजस्ती करणी गरिरहेको अवस्थामा मेरो साथीहरुले देखि होहल्ला गर्दा प्रतिवादी त्यहाँबाट भागी फरार भए । दुवै जना प्रतिवादीहरुलाई पक्राउ गरी पीडितलाई क्षतिपुर्ती समेत दिलाई भराई जवरजस्ती करणी महल अन्तरगत हदैसम्मको कारवाही गरि पाऊँ’ भन्ने व्यहोराको निवेदन एक महिलाले दर्ता गराइन् ।

उक्त घटनामा प्रतिवादीहरु मध्येका सहदेव मण्डल पक्राउ पर्यो भने अर्को प्रतिवादी रामचलितर मण्डल फरार छन् । अनुसन्धानको क्रममा पक्राउ प्रतिवादी सहदेव मण्डलले जाहेरवालीले बादविवाद र रिसईवीको कारण झुठो व्यहोराको जाहेरी दिएको भन्दै कसुर इन्कार गरेको पाइन्छ ।

पीडित महिलाको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा बलात्कारको लक्षण पाइएन । अहिले उक्त मुद्दा धनुषा जिल्ला अदालतमा विचाराधिन अवस्थामा रहेको छ ।

घटना ९

नावालिक बलात्कृत, प्रतिवादी फरार

‘२९ कार्तिक २०७३ का दिन मेरो बुवा, आमा र श्रीमती पुर्णिमा नुहाउन कमला नदी गएका थिए । म काम विशेषले गाउँमा गएको थिएँ । मेरो घरमा मेरी नावालिका १४ बर्षिय बहिनी मात्र थिईन । सोही अवस्थामा धनुषाधाम नगरपालिका ३ बस्ने २२ बर्षिय कृष्ण मुखिया विन के कहाँबाट एक्कासी मेरो घरमा आई मेरो नावालिका बहिनीलाई ललाईफकाई गरी घर पछाडीको कल भन्दा केही पर बालुवा खोला किनारमा रहेको खेतमा लगि जवरजस्ती करणी गरी भागी फरार भएको हुँदा आवश्यक कारवाही गरि पाऊँ’ भन्ने व्यहोराको जाहेरी दर्ता भयो ।
पीडित नाबालिकाको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा पीडितको शरीरमा कुनै प्रकारको निलडाम, चोटपटक नरहेको तथा ‘हाईमन ओल्ड टियर’ सहितको व्यहोरा पाइयो ।

पीडितले लगाएको कपडा सुरुवाल परीक्षणको लागि केन्द्रिय विधि विज्ञान प्रयोगशाला काठमाण्डौमा पठाइएकोमा सोको परीक्षण रिपोर्ट हालसम्म प्राप्त भएको छैन । प्रतिवादी फरार रहेका कारण मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।

५ बर्षमा ३ जिल्लामा ९५ थान बलात्कारको मुद्दा दर्ता

तराईका जिल्लाहरुमा बलात्कारको घटना भयावह स्थितिमा रहेको पाइन्छ । अञ्चल प्रहरी कार्यालय जनकपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो ५ बर्षमा धनुषा, महोत्तरी र सर्लाही गरी ३ जिल्लामा कुल बलात्कारको १ सय ८० थान र बलात्कारको प्रयासका ९५ थान मुद्दा दर्ता भएका छन् ।
बलात्कारीलाई १० हजार जरिवानाको प्रवृति

बलात्कारका घटनाहरु समाजमा बढ्दै गरेको भएपनि अधिकांश घटनाहरु बाहिर आउँदैनन् । अहिले पनि मधेसका ग्रामीण क्षेत्रहरुमा लोक लाज, इज्जत प्रतिष्ठाका कारण पीडित हुने पक्षले घटनालाई लुकाइदिन्छन् । घटना बाहिर सार्वजनिक भए ठुलो बदनामी हुने मान्यता गाउँका मानिसहरुमा विद्यमान छन् ।

पीडित यदि कुमारी महिला हो भने घटना सार्वजनिक हुँदा भोली त्यसको विहे हुन धेरै कठिनाई हुने वा विहे नै नहुने डरका कारण पीडित महिलाका परिवारजनले घटनालाई लुकाउने गर्छन् ।

परिणाम स्वरुप बलात्कार घटनाका अपराधिहरु कानुनको दायरामा आउन सकिरहेको छैन । घटना सार्वजनिक भएपनि गाउँ समाजका मानिसहरुले त्यसलाई दवाउने गर्छन् । गाउँका अगुवाहरु मिलेर बढी भन्दा वढी पीडकलाई १० हजार रुपैयाँ देखि ५० हजार रुपैयाँ जरिवानासम्म गरेर पीडकलाई उन्मुक्ति दिने गर्छन् ।

पीडित पक्ष कमजोर हुने र पीडक पक्ष समाजमा बर्चस्वशाली हुने अवस्थामा गाउँका पञ्चहरुले पञ्चायत गरेर जरिवाना गर्ने गर्छन् । ती अपराधिहरु कानुनको दायरामा आउन सकिरहेको हुँदैनन् । कतिपय अवस्थामा त्यसरी छलफल स्थानीय प्रहरी चौकीमा प्रहरीको उपस्थितिमै हुनेगर्छन् । र, उठेको जरिवानाबाट पञ्च, प्रहरी सबैले भोजभतेर गर्ने गरेको कतिपय उदाहरणहरु बेला बखत आउने गर्छन् ।

बलात्कार हुन्छ पुष्टि हुँदैन


प्रहरीमा बलात्कारको मुद्दा दर्ता हुने गरेपनि अधिकांश मुद्दाहरुमा बलात्कार पुष्टि हुँदैन । प्रहरी कहाँ पीडित महिला घटना भएको २÷३ दिन पछि मात्र पुग्ने गरेका हुन्छन् । अनि त्यसपछि प्रहरीले पीडित महिलाको स्वास्थ्य परीक्षणका लागि सरकारी अस्पतालको रुपमा रहेको जनकपुर अञ्चल अस्पतालमा पठाउँदा स्वास्थ्य परीक्षण प्रतिवेदनमा बलात्कार भएको सन्दर्भमा कुनै पनि लक्षण वा चिन्हहरु रहेको हुँदैन ।

अदालतले प्रायःजसो मेडिकल रिपोर्टलाई नै मुख्य आधार बनाउने गरेका कारण कतिपय घटनाहरुमा बलात्कार भएपनि मेडिकल रिपोर्टका कारण अदालतमा बलात्कार पुष्टि नभई प्रतिवादीहरुले सफाई पाउने गरेका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायधिवक्ता टेक बहादुर कार्की भन्छन,“ जनकपुर अञ्चल अस्पतालका कतिपय रिपोर्टहरु पीडित महिलाको स्वास्थ्य परीक्षण गर्दै गर्दा नलेखि ४÷५ दिन पछि लेख्ने गरिएको कारण पनि सहि रिपोर्ट आईरहेको हुँदैन ।”

अञ्चल अस्पतालका डाक्टरहरुले कतिपय घटनामा प्रतिवादीकै पक्षबाट लेनदेन गरी रिपोर्ट प्रतिकुल बनाईदिने गरेको आशंका किन पनि पुष्टि हुन्छ भने अञ्चल अस्पतालबाट बुझाउने गरिएको प्रतिवेदनमा बलात्कारको लक्षण नपाइएको भनेर आउने गरेपनि त्यही केशको पीडित र पीडकको कपडा लगायत अन्य सामग्रीहरु विधि विज्ञान प्रयोगशाला काठमाण्डौ पठाउँदा बलात्कारका लक्षण प्रमाणित भएर प्रतिवेदन आउने गरेको हुन्छ ।

के साँच्चै बलात्कार हुन्छ नै ?

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान फाँटका प्रहरी कर्मचारीहरुका अनुसार अधिकांश दर्ता हुने बलात्कारको मुद्दामा बास्तवमा बलात्कार भएको हुँदैन । सहमति अनुसार सम्बन्ध स्थापित गर्ने र सो समयमा अन्य पक्षले देखेपछि महिला पक्षले आफ्नो इज्जत जोगाउनका निम्ति हल्ला गरी आफुलाई बलात्कार गर्यो भनेर भन्ने, मुद्दा दर्ता गर्ने प्रवृति पनि बढेको अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरु बताउँछन् ।

मधेसमा अहिले गाउँ घरमा केटा केटीहरु बीच कलिलै उमेरमा प्रेम हुने, आपसी सहमतिमा शारिरीक सम्बन्ध बनाउने र केटी पक्षका अभिभावकले थाहा पाएपछि केटालाई फसाउने उद्देश्यले बलात्कारका मुद्दाहरु दर्ता गराउने प्रवृति पनि बढेको कुरामा सरकारी वकिल कार्की पनि सहमत छन् ।

तर, जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला सहन्यायधिवक्ता रामइश्वर राय यादव असहमति राख्दै भन्छन,“कुनै पनि महिलाले आफ्नो इज्जत प्रतिष्ठामा आँच आउने कुरामा सम्झौत ागर्न सक्दैन । दर्ता हुने बलात्कारका मुद्दाहरुमा महिलाहरुको बास्तवमा नै बलात्कार गरिएको हुन्छ ।”

सरकारी वकिल टेक बहादुर कार्कीले विभिन्न अनुभवहरु सुनाए । धनुषामा एक जना १४ बर्षिय मुसलमान केटी र १८ बर्षिय मण्डल समुदायका केटा बीच प्रेम परेको थियो । केटा र केटी बीच गाउँकै चौरीमा परालको कुन्यूमा स्वेच्छाले सम्बन्ध स्थापित गरिरहेका थिए ।

सोही क्रममा तेस्रो पक्षका एक जना केटाले आफ्नो मोवाईलमा सम्बन्ध राख्दै गरेको भिजुवल रेकर्ड गरे । अनि त्यो केटाले गाउँका अन्य केटा हुँदै प्रायः केटाहरुको मोवाईलमा भाइरल बन्यो । केटी पक्षका परिवारजनले त्यो कुरा थाहा पाएपछि केटीका आमाले केटालाई प्रतिवादी बनाई बलात्कारको मुद्दा दर्ता गरायो ।

अदालतमा दुवै पक्षको सहमतिले नै सम्बन्ध स्थापित भएको कुरा पुष्टि भएपनि केटालाई अदालतले कैदको सजाय गर्दै जेल पठायो । सरकारी वकिल कार्कीका अनुसार त्यो घटनामा बलात्कार पुष्टि नभएपनि केटालाई अदालतले किन सजाय गर्यो भने उमेर नपुगि नावालिक रहेको बालिकालाई सहमतिले पनि करणी गर्न कानुनले अनुमति दिएको छैन ।

मधेसमा दर्ता हुने कतिपय घटनामा के पाइएको छ भने पीडित भनिएको श्रीमान बैदेशिक रोजगारीमा गएको हुन्छ । ती महिलासँग अन्य पुरुषको अवैध सम्बन्ध स्थापित भईरहेको हुन्छ । अनि सासु वा ससुरा मध्ये कसैले देखेपछि ती पुरुषलाई बलात्कारको मुद्दामा प्रतिवादी बनाइएको हुन्छ । यसरी हेर्ने हो भने दुवै पक्षले मिलेमतोमा अबैध सम्बन्ध स्थापित गर्ने र कोईकसैले हेरेपछि हल्ला गर्ने र बलात्कार भयो भन्ने प्रचलन पनि बढेको सरकारी वकिल कार्की बताउँछन् ।

त्यस्तै अर्को अनुभव सरकारी वकिल कार्कीले सुनाए । एक जना महिलाको श्रीमान विदेश गएको थियो । भिनाजु नातामा (दिदीको देवर) पर्ने एक जना विदेशबाट फर्केर घर आएका थिए । बारिको डिलमा बसेर ती महिला भिनाजु नातामा पर्ने ती व्यक्तिसँग दिउँसो कुराकानी र हँसी मजाक गरिरहेका थिए । ती आईमाईको ससुराले देखेपछि चोर चोर भन्दै दिउँसै हल्ला गरे ।

ससुराले बुहारीलाई फर्काएर नाङ्गोपारी समेत हेरे । बुहारीलाई रेप गर्यो भनेर मुद्दा गर्नुपर्छ भन्दै त्यो भिनाजुलाई विपक्षी बनाई मुद्दा दर्ता गराइयो । गाउँमा पनि हल्ला खल्ला भयो । मान्छे पक्राउ पर्यो । अनि त्यसपछि ती बुहारीलाई ससुराले व्लयाकमेलिङ्ग गर्दै अबैध सम्बन्ध राख्ने दवाव दिन थाल्यो ।

त्यसपछि बुहारीले ससुराको कर्तुतका बारे प्रहरीमा जानकारी गराएपछि ससुरालाई समेत पक्राउ गरी केही सार्वजनिक अपराधको मुद्दा दर्ता गराइयो । त्यसपछि ससुराले बुहारीलाई घरमा राख्ने बातावरण भएन । अनि गाउँ समाजका मानिसहरुले बैठक बसेर त्यही भिनाजु नातामा पर्ने दिदीको देवरसँग त्यो बुहारीलाई विहे गराइयो ।
यसरी हेर्ने हो भने धनुषा, महोत्तरी लगायतका कतिपय जिल्लाहरुमा बलात्कार नभएपनि बलात्कारको मुद्दा दर्ता गर्ने प्रवृति पनि बढेको छ । विद्यार्थी उमेरमै केटा केटीहरु आमा बुवाको मर्जी बेगर भागेर अन्तरजातिय विहे गर्ने प्रवृति बढेको छ । केटी पक्षले त्यस्तो अवस्थामा आफ्नो छोरीलाई अपहरण गर्ने, बलात्कार गरेको भन्दै केटा पक्षलाई विपक्षी बनाई मुद्दा दर्ता गर्ने प्रवृति बढ्दै गएपछि बास्तविक रुपमा बलात्कारबाट पीडित भएका महिलाहरुले समेत न्याय नपाईरहेको अवस्था देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x