२४ जेठ २०८३, आइतबार
जसपा विवाद

जसपा 'हाइज्याक' गरेर लोसपासँग एकता गर्ने तयारीमा बाबुराम, महन्थसँग वार्ता तय

जेठ ३१, २०७९
जसपा 'हाइज्याक' गरेर लोसपासँग एकता गर्ने तयारीमा बाबुराम, महन्थसँग वार्ता तय

जनता समाजवादी पार्टी(जसपा) नेपालको बाबुराम भट्टराई समूह र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का नेताहरूबीच पार्टी एकताका लागि वार्ता हुने भएको छ।

जसपा कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले निरन्तर लोसपासँग पार्टी एकताका लागि आह्वान गरिरहेको भए पनि लोसपाका नेताहरूले उपेन्द्रको साटो बाबुराम समूहसँग वार्ता गर्ने तयारी गरेका हुन् ।

स्रोतका अनुसार लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरीबाट फर्किएलगत्तै दुवै पक्षका शीर्ष नेताहरूबीच भेटवार्ता हुने भएको छ ।

भट्टराई समूह अब जसपामा उपेन्द्र यादवसँग मिलेर सँगै जान नसक्ने निष्कर्षसहित पार्टी 'हाइज्याक'को तयारीमा लागेको छ ।

उपेन्द्र यादवलाई संसदीय दलको नेता तथा पार्टीको कार्यकारिणी अध्यक्षबाट हटाएर पार्टी कब्जा गर्ने भट्टराई समूहको तयारी देखिन्छ ।

त्यसपछि लोसपासँग एकता गर्नका लागि अहिलेदेखि नै वार्ता शुरू हुन लागेको हो ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भट्टराई र ठाकुरबीच पार्टी एकताबारे सामान्य कुराकानी भएको स्रोतले दाबी गर्‍यो ।

लोसपा नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर फर्किँदै गर्दा भट्टराई देउवालाई भेट्न बालुवाटार पुगेका थिए । सो क्रममा उनीहरूबीच सामान्य कुराकानी भएको थियो ।

स्रोतका अनुसार भट्टराईले जसपाको आधिकारिकता दाबी गर्ने तयारी भएको जानकारी गराउँदै पार्टी एकताका लागि वार्ता गर्नुपर्ने प्रस्ताव ठाकुरसमक्ष राखेका थिए।

जवाफमा ठाकुरले आफू महोत्तरी जान लागेको र महोत्तरीबाट फर्किएपछि वार्ता गर्ने बताएको स्रोतको दाबी छ ।

बालुवाटारमा भएको छोटो कुराकानीबाहेक भट्टराई निकटका केही नेताले ठाकुरसँग फोनमा कुराकानी पनि जारी राखेको स्रोतको दाबी छ।

जसपा अध्यक्ष यादवले निरन्तर पार्टी एकताका लागि आह्वान गरिरहँदा लोसपाले कुनै रेस्पोन्स गरेको छैन ।

पार्टी औपचारिक रूपमा विभाजन समेत नभएको अवस्थामा भट्टराई समूहसँग वार्ता गर्न ठाकुर तयार हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

 


salt training

कमेन्ट गर्नुहोस्