२५ असार २०८३, बिहीबार

काँधमा हलो र जुवा बोकेकी दीया भन्छिन्- 'प्रकाश'को पोस्टर शेयर गरिरहँदा मन ढक्क फुलेको महसुस गर्दैछु

काँधमा हलो र जुवा बोकेकी दीया भन्छिन्- 'प्रकाश'को पोस्टर शेयर गरिरहँदा मन ढक्क फुलेको महसुस गर्दैछु

अभिनेत्री दीया मास्केले चलचित्रमा साहित्य चेत बढेसँगै चलचित्र अभिनयमा पनि एक प्रकारको गहिराइ आउन थालेको बताएकी छन् । आफू अभिनित नयाँ चलचित्र ‘प्रकाश’को पोष्टर शेयर गर्दै महिला पात्रहरु बिस्तारै उपस्थिति जनाउने तत्वहरु मात्र नभएर ‘चलचित्र न्यारेटिभ’को अभिन्न अंग बन्न थालेको उल्लेख गरेकी हुन् । 

जसको उदाहरण चलचित्र ‘प्रकाश’को प्रतिनिधि पात्र ‘सीता’ रहेको उनले बताएकी छन् ।  यो चलचित्रमा दीया ‘सीता’नामको पात्रको भूमिकामा प्रस्तुत छिन् । पोष्टरमा उनी काँधमा हलो र जुवा बोकेकी छिन्, उनको अगाडि गोरु देखिन्छ । 

प्रायः नेपाली चलचित्रहरूमा हिरोइनको चरित्र हिरोका वरिपरि घुम्ने खालको हुने गरेकोमा त्यो अवस्थाबाट नेपाली चलचित्र क्षेत्र विस्तारै सिंढी चढ्न थालेको दीयाको आशय छ ।

‘दीयाबाट सीता बनिरहँदा चलचित्रको छायांकन स्थलमा रहेर त्यहाँको भाषा सिक्नु, रहनसहनसँग बानी पार्नु सजिलो पक्कै थिएन तर कठिन हो भन्ने पनि कहिल्यै महसुस भएन,’ उनी लेख्छिन्, ‘गरिरहेको कामप्रति इमान्दार नहुनु भनेको पात्रलाई गिज्याउनु हो भन्ने मलाई लाग्छ । आज प्रकाशको पोस्टर शेयर गरिरहँदा मन ढक्क फुलेको महसुस गर्दैछु, यो सीताप्रतिको मेरो लगाव र गर्व दुवै हो ।’

उनी अगाडि लेख्छिन्, ‘कथा छनोट र त्यसको उठानमा नै मेहनत गर्न कन्जुस्याइँ गर्ने हामी झनै पात्र छनोट र चरित्र निर्माणमा पटक्कै ध्यान दिँदैनौँ । कहिलेकाहीँ त हाम्रा चलचित्रहरूमा महिला पात्र केवल कोटा भर्न उभ्याइएका सहभागी पात्रजस्तो मात्र प्रतीत हुन्छ । हामी उनीहरूको चारित्रिक विशेषता खोज्नतिर शून्य बराबर नै समय खर्चिने गर्छौं ।’

‘प्रकाश’को टिजर हेरेर आफूलाई धेरै मीठो प्रतिक्रियाहरू आएको उनले बताएकी छन् ।  ‘सिनेमामा आफ्नो कामलाई लिएर अहिले बोल्नु अलि हतारो होला ।  मात्र यति  भन्छु– समय बदलिएको छ,’ दीयाले भनेकी छन् । 

दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’मा प्रदीप खड्का र दीया मास्के शीर्ष भूमिकामा छन् । सरकारी शिक्षक बन्न संघर्ष गर्ने जुम्लाको एक विपन्न युवकको कथामा निर्माण भएको चलचित्र भदौ १० गतेदेखि देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्