
कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको छ ।
कर्णाली प्रदेशको बुधवार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले प्रस्तुत गरेको बजेटमा चालूतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार र पुँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार रुपैयाँ छ ।
बजेटमा संघले वित्तीय हस्तान्तरणबाट ४ अर्ब १ करोड ५७ लाख २९ हजार रुपैयाँ उपलब्ध गराउने भएकाले प्राप्त हुने रकमलाई समेटेर बजेट तयार पारिएको उल्लेख छ । यस्तो रकममा समपूरकबापत १ अर्ब २१ करोड ५० लाख, विशेष अनुदानबापत ६६ करोड ८० लाख प्राप्त हुने उल्लेख छ ।
वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रम तथा आयोजना कार्यान्वयनका लागि २ करोड ५ लाख ४ हजार रुपैयाँ प्राप्त हुने गरी बजेट तयार पारिएको छ ।
बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ७१ करोड २९ लाख ७४ हजार रुपैयाँ, चालू आर्थिक वर्षको खर्च नभएर बाँकी रहन जाने अनुमानित रकम ४ अर्ब ५५ करोड ४५ लाख ८५ हजार रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँटबापत प्राप्त हुन आएको रकम ९ अर्ब २ करोड २० लाख रुपैयाँ छ ।
वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब ७२ करोड ६४ लाख रुपैयाँ र सशर्त अनुदानबाट ५ अर्ब ६९ करोड ६७ लाख रकम प्राप्त हुने गरी बजेट तय भएको उल्लेख छ ।