
प्रदेश १ सरकारले ल्याएको बजेटलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हावादारी बजेटको संज्ञा दिएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेकपा एमाले संसदीय दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यले अहिलेको सरकारले ल्याएको बजेट हावादारी भएको बताए ।
‘राजस्व संकलन गर्ने कुनै नयाँ योजना पनि ल्याउनुभएको छैन,’ उनले भने, ‘कुनै तयारी बेगर हचुवाका भरमा ल्याएको बजेटले केही पनि परिवर्तन हुँदैन ।’
कार्यकर्ता पोस्नका लागि मात्रै बजेट ल्याएको समेत उनले आरोप लगाए । ‘न लक्ष्य अनुसारको राजस्व संकलन हुन्छ, न त उहाँहरूले बजेट नै खर्च गर्न सक्नुहुन्छ । कार्यकर्ता पाल्नका लागि मात्रै अहिलेको सरकारले बजेट ल्याइएको छ,’ उनले भने, ‘कुनै पनि ठुला योजना छैनन् । सबै टुक्रे योजना मात्रै छन् । महत्त्वपूर्ण योजनाहरूमा कम बजेट छुट्याएर चुनाव लक्षित बजेट ल्याइएको छ ।’
प्रदेश सरकारले प्रदेशलाई प्रभाव पार्ने कुनै पनि खालका बजेट नल्याएको उनले आरोप लगाए । आधारहीन, तथ्यहीन हावादारी बजेट आएकाले प्रदेशमा कुनै पनि काम नगर्ने उनले बताए ।
‘ठूला योजनाका लागि पर्याप्त बजेट छुट्याइएको छैन तर चुनावलाई लक्षित गरेर बजेट ल्याइएको छ,’ उनले भने ।