
नेकपा एकीकृत समाजवादीले संसदबाट बजेट पारित भएलगत्तै मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ ।
बुधवार काठमाडौंमा बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले यसअघि सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गरेको हो ।
स्थायी कमिटीले बजेट पारित भएलगत्तै पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । यसअघि सचिवालय बैठकले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो ।
तर प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट बजेट पारित नभई मन्त्रिपरिषद् हेरफेर नगर्ने भनेपछि एकीकृत समाजवादीले मन्त्री फेर्न सकेको थिएन ।
एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले असार १० गते पोलिटब्युरो र ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ भने १३ गते केन्द्रीय परिषद् बैठक बोलाएको खतिवडाले जानकारी दिए ।