
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावको नाममा महासंग्राम पार गरेको बताएका छन् ।
पार्टीविरुद्ध चौतर्फी घेराबन्दी गर्दा पनि एमालेका राम्रो उम्मेदवारले जितेको उनको भनाइ थियो ।
नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिन बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक अभ्यासका नाममा तानाशाही र अधिनायकवादी चरित्रविरुद्ध चुनाव लडिएको बताए ।
‘हाम्रा लागि चुनाव जीवनमरणको महासंग्राम थियो, हाम्रो अस्तित्व समाप्त गर्न कोसिस गरिएको थियो । यति गर्दा पनि आजको दिनमा प्रमुख पार्टी हौं,’ ओलीले भने, ‘स्थानीय तह चुनाव महासंग्राममा पैसाको दुरुपयोग मात्र भएन, अधिनायकवादविरुद्ध लड्यौं, लोकतन्त्रको नाम जप्ने तानाशाही, दमनकारी शासन सामना गरेर चुनाव जित्नु चानचुने कुरा होइन ।’
ओलीले ५ वर्षको समयमा नमूना काम गर्न निर्देशन दिए । ‘तपाईंहरूले ५ वर्ष आ–आफ्ना स्थानीय तहमा काम गर्नुपर्नेछ । कार्यकाल पूरा गर्दा तपाईंहरूको नाम हाइहाई होस्, आलोचना सुन्नु नपरोस्,’ ओलीले भने, ‘देखाइराख्न नपरोस्, जता फर्के पनि विकास देखियोस् ।’