२३ असार २०८३, मंगलबार

पहिरोमा परेकाहरूको उद्धारका लागि ताप्लेजुङ पुग्यो हेलिकप्टर

पहिरोमा परेकाहरूको उद्धारका लागि ताप्लेजुङ पुग्यो हेलिकप्टर

गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि ताप्लेजुङ जिल्ला सिरीजंघा गाउँपालिका-७, खेवाङमा बिहीवार राति गएको पहिरोमा परेर घाइते भएकाहरूको उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा पुगेको छ । 

मन्त्री खाणले गृह प्रशासन, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल, सशस्त्र प्रहरी बलका प्रदेश १ का प्रमुख सशस्त्र नायव महानिरीक्षक कमल गिरी, नेपाल प्रहरीका प्रदेश १ का निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नविनराज राई, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईलाई टेलिफोन गरेर घाइतेहरूको यथाशीघ्र उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका थिए । 

उनको निर्देशनपछि हेलिकोप्टर घटनास्थलमा पुगिसकेको ताप्लेजुङका प्रजिअ पोखरेलले जानकारी दिए । उनका अनुसार पहिरोमा परेर घाइते भएका ३५ वर्षीय विष्णु अधिकारीलाई हेलिकोप्टरमार्फत सदरमुकाममा रहेको हेलिप्याडमा ल्याएर उपचार गर्ने र थप उपचार गर्नुपर्ने भएमा त्यही हेलिकोप्टरबाटै विराटनगर पठाउने तयारी छ । हेलिप्याडमा घाइतेको उपचारका लागि डक्टरहरू पुगिसकेको प्रजिअ पोखरेलले जानकारी दिए । 

उनका अनुसार पहिरोमा परी ३४ वर्षीय यशोदा अधिकारी र ५९ वर्षीय तुलसा अधिकारीको मृत्यु भएको छ । 

गृहमन्त्री खाणले पहिरोबाट थप क्षति हुन नदिन सतर्क रहन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन् । उनको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्