
पहिरोका कारण अवरुद्ध भैसे–भीमफेदी सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको छ ।
भीमफेदी गाउँपालिका–४ पान्द्राङमा शुक्रवार राति वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध सडकखण्डमा शुक्रवार बिहानदेखि दुवैतर्फीरूपमा यातायात सञ्चालनमा आएको ईलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जोड्ने छोटो मार्ग सिस्नेरी सडकखण्डमा अझै पनि यातायात सञ्चालनमा आउन सकेको छैन । केही दिनदेखि अवरुद्ध सडकखण्डमा यातायात सञ्चालनको लागि पहिरो हटाउने कार्य भइरहेको भीमफेदी प्रहरीले जनाएको छ ।
हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्गअन्तर्गत पर्ने सडकखण्डमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।