
सोल, ६ साउन - उत्तर कोरियामा गएको १५ बर्षयताको सबैभन्दा डरलाग्दो खडेरी परेकोले यहाँ गम्भीर आर्थिक खडेरी पर्ने देखिएको छ ।
संयुक्त राष्ट्रसंघले हालै गरेको एक अनुसन्धानबाट यो तथ्य पाइएको हो । बालबालिकालाई भोकमरीबाट बचाउन तत्कालै खाद्यान्न आयात गर्नुपर्ने आवश्यकता देखिएको पनि सो समाचारमा जनाइएको छ ।
संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि कार्यक्रम, एफएओले मनसुनी बर्षा यस बर्ष अनुपातमा नै एकदमै थोरै भएको बताएको छ । सो संस्थाका अनुसार सन् २००१ को तुलनामा झन कम भएको बताएको छ ।
ठूलो जनसङ्ख्या बसोबास गर्ने क्षेत्रका नागरिकले खाद्यान्न अभावको समस्या खेप्नुपर्ने समस्या देखा परिसकेको उक्त संस्थाले जनाएको छ ।
खाद्यान्न अभावको जोखिममा रहेका नागरिकको उद्वारको लागि विशेष कार्यक्रमको घोषणा हुनु आवश्यक रहेको जानकारी सो संस्थाले दिएको छ । विशेषगरी बालबालिकामा खाद्यान्न सङ्कटको समस्याले छुने भएको सो संस्थाको अध्ययनमा देखिएको छ ।
खडेरीका कारण मर्कामा पर्ने अवस्थामा रहेका नागरिक र क्षेत्रको पहिचान गरेर खाद्यान्न आपूर्तिको ब्यवस्थाका लागि पनि अनुरोध गरिएको छ । रासस/एएफपी