२८ असार २०८३, आइतबार

चुनावमा गरेका बाचा बिर्सिएर बन्यो विराटनगरको बजेट

असार १०, २०७९
चुनावमा गरेका बाचा बिर्सिएर बन्यो विराटनगरको बजेट

विराटनगर महानगरपालिकाले नयाँ आर्थिक वर्ष २०७९/८० का लागि ३ अर्ब ६२ करोड ५५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

महानगरकी उपमेयर शिल्पा निरला कार्कीले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट पेस गरेकी छिन् । यो बजेट चालु आवको भन्दा झन्डै १ अर्ब कम हो । 

चालू आर्थिक वर्षका लागि महानगरपालिकाको बजेट ४ अर्ब ६० करोड ८१ लाख रुपैयाँको आय व्यय प्रस्तुत गरेको थियो । उक्त बजेटको आकार संशोधन गर्दै महानगरले २ अर्ब ३२ करोड ८१ लाख १६ हजार हुने अनुमान गरेको छ ।

महानगरकी उपमेयर शिल्पा निरला कार्कीेले पेश गरेको नीति तथा कार्यक्रमा अनुसार आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा आम्दानी तर्फ सङ्घीय सरकारबाट वित्तीय हस्तान्तरण भई आउने ४५ करोड ६८ लाख, प्रदेश सरकारबाट २ करोड ६१ लाख ९७ हजार, राजस्व बाँडफाँडबाट मूल्य अभिवृद्धि कर अन्त शुल्क २१ करोड १७ लाख २९ हजार, घरजग्गा रजिस्ट्रेसनबाट ८८ करोड ८२ लाख ९३ हजार, सवारी साधन कर प्रदेशबाट प्राप्त हुने ३ करोड ९९ लाख ४७ हजार रहेको छ ।

यस्तै सशर्त अनुदान सङ्घीय सरकारबाट ७२ करोड १७ लाख, प्रदेश सरकारबाट ९० लाख, समपूरक अनुदान प्रदेश सरकारबाट १ करोड ४० लाख, जिल्ला समन्वय समितिबाट  १ करोड, करुणा फाउन्डेसनबाट ९० लाख, युएनएफपीए आइपास सिएमसीबाट २० लाख, सडक बोर्डबाट १ करोड ५० लाख, विशेष अनुदान ४० करोड, आन्तरिक राजस्व १ अर्ब, जनसहभागिता ८ करोड र नगर विकास कोषबाट ऋण १० करोड १९ लाख रुपैयाँ आम्दानीको अनुमान गरिएको छ ।

यस्तै व्यय तर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ६१ करोड ३५ लाख ५० हजार, समपूरक कार्यक्रमतर्फ ४७ करोड २० लाख, सहकारी, उपभोक्ता हित संरक्षण, पर्यटन प्रवद्र्धन, उद्यमशीलता विकास, पशुपक्षी तथा भेटेरिनरी र कृषि विकासका लागि १३ करोड ८० लाख, सामाजिक विकासका लागि १५ करोड ९६ लाख, पूर्वाधार विकास कार्यक्रमका लागि १ अर्ब ७० करोड ९८ लाख, १७ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनका लागि ३ करोड ५५ लाख, सुशासन तथा संस्थागत विकासका लागि ४ करोड ३५ लाख खर्चको अनुमान गरिएको छ । यस्तै व्ययतर्फकै समपूरक विशेष सशर्त ऋण तथा सङ्घसंस्थाको कार्यक्रमको कूल खर्च १ अर्ब २६ लाख रुपैयाँ अनुमान गरिएको छ ।

छोरी बचाउ छोरी पढाऊ कार्यक्रमलाई निरन्तरता दिएको छ । पहिलो र दोस्रो सन्तान छोरी जन्मे प्रोत्साहन स्वरूप सहयोग गर्दै आएको थियो । गर्भवती तथा सुत्केरीलाई अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई अस्पताल सम्म र्पुयाउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । गर्भवतीहरूलाई निःशुल्क भिडियो एक्सरे व्यवस्था समेत गरेको छ । 

विराटनगर महानगरपालिकाले महानगर क्षेत्र भित्र मेट्रो सिटी अस्पताल संचालनमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ । 

त्यसको लागि सम्भाव्यता अध्ययन, जग्गा व्यवस्थापन तथा डिजाइन नक्सा निर्माण जस्ता कार्यहरू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

यस्तै प्राथमिक स्वास्थ्य केन्द्र रानीलाई स्तर उन्नति गरी १५ शय्याको अस्पताल संचालनमा ल्याउन सम्भाव्यता अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ । मातृ तथा बाल मृत्युदर कम गर्न र जन्मजात अपाङ्गगतलाई समयमै पहिचान गर्न महानगरपालिकाले प्रधानमन्त्री पार्क पनि निमार्ण गर्ने भएको छ । 

विराटनगरबाट प्रतिनिधित्व गर्दै नेपालको प्रधानमन्त्री समेत भएका सम्मानित व्यक्तिहरूको सम्झना र जीवनी सहितको अभिलेखहरू संरक्षण गर्न मिनी सङ्ग्रहालय सहितको प्रधानमन्त्री पार्क निर्माण गरिने उल्लेख ।  

निवर्तमान उपप्रमुख इन्दिरा कार्कीले ल्याएकी ‘छोरी बचाऊ, छोरी पढाऊ’ कार्यक्रमलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई निरन्तर दिएको छ । ‘जसको कोही छैन त्यसको साथमा स्थानीय सरकार छ’ भन्ने सोचका साथ शव हान र निःशुल्क दाउराको व्यवस्था गरी बेवारिसे शव घाटसम्म पुर्‍याउने र अन्त्येष्टि गर्ने भएको छ ।  

चुनावी एजेन्डाले पाएन बजेटमा प्रवेश

मेयर नागेश कोइराला र उपमेयर शिल्पा निरला कार्कीले  चुनावमा जनता माझ गरेका प्रतिबद्धता भने बजेटमा समावेश गरेका छैनन् ।

दुवैजनाको  पहिलो प्राथमिकतामा करको दायरा बढाउने र कर घटाउने रहेको थियो । तर नगरपालिकाको बजेटमा भने सो कुरा उल्लेख गरिएको छैन । 

यस्तै गरिब तथा विपन्न परिवारलाई २० युनिट सम्म निःशुल्क गर्ने प्रतिबद्धता जनाएका थिए । सो पनि बजेटमा उल्लेख गरिएको छैन ।

मेयर कांग्रेसका हुन् भने उपमेयर एमालेकी हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्