
यतिबेला किसान रासायनिक मलको अभावमा मलबिनै धान रोप्न थालेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन् । केही किसानले भने गड्यौला मलको उत्पादन थालेका छन् ।
कैलालीको टीकापुर नगरपालिका–१ का ललित थापाले तीन वर्षदेखि गड्यौला मल उत्पादन गर्दै आएका छन् । उनले गड्यौला मल उत्पादन गर्न थालेपछि रासायनिक मलको खोजिमा दौडनु परेको छैन । थापाले व्यावसायिक रुपमा गड्यौला मलको उत्पादन गर्न थालेपछि अन्य किसानको मागलाई समेत उनले पूर्ति गर्दै आएका छन् । माटोको उर्बरा शक्ति बढाउने भएका कारण पछिल्लो समय व्यावसायिक कृषिखेती गर्नेका लागि गड्यौला मल निकै उपयोगी हुन थालेको थापा ले बताए।
गाई भैँसीको मलमूत्र र सड्ने झारपातको प्रयोग गरी गड्यौला मल तयार पारिन्छ । चौपायाको मलमूत्रलाई सङ्कलन गरेर त्यसमा गड्यौला राखिन्छ र गड्यौलाले त्यसलाई आफ्नो आहाराको रुपम खाने र त्यहीँ दिशा गर्ने भएकाले त्यसैलाई मलको रुपमा प्रयोग गरिने थापाले बताए।
माटोलाई चिस्यान बनाई राख्ने भएकाले पनि गड्यौला मल माटोको लागि निकै लाभदायी भएको मल उत्पादक किसान बताउँछन् । गड्यौला मल बनाउँदा गाईको पिसाब प्रयोग गरिने भएकाले खेतीमा लाग्ने रोगमा पनि कमी आउने गरेको नरेश रावलले बताए
व्यावसायिक पशुपालनमा लागेका रावल पशुबाट उत्पादन भएको मलमूत्रलाई सङ्कलन गरेर त्यसमा गड्यौलालाई राखेर मल उत्पादनमा लागेका हुन् ।
प्रचारप्रसारको कमी र मलको बारेमा किसानलाई बुझाउन नसक्दा अझै पनि गड्यौला मलबारे शङ्का रहेको किसान यज्ञराज जैशीले बताउ । किसानले गड्यौला मलको अत्यधिक माग गरिरहेको उनको भनाइ छ ।