०४ साउन २०८३, सोमबार

प्रधानमन्त्री दिएर ओलीले पार्टी जोगाउन चाहेका थिए, प्रचण्डले आरोप फिर्ता लिन मानेनन् : बामदेव गौतम

प्रधानमन्त्री दिएर ओलीले पार्टी जोगाउन चाहेका थिए, प्रचण्डले आरोप फिर्ता लिन मानेनन् : बामदेव गौतम

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता जोगाउनका लागि प्रधानमन्त्री पद छाड्न तयार भएको खुलासा गरेका छन् ।

शनिवार ललितपुरको धोबिघाटमा आयोजित नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो भेलालाई सम्बोधन गर्दै उनले तत्कालीन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीलाई आरोपित गरेर लेखेको २० पृष्ठको आरोपपत्र फिर्ता लिन तयार नभएको कारण पार्टी एकता जोगिन नसकेको गौमतले बताएका छन् ।

नेकपा भित्रको विवादबारे २ नेताहरूबीच भइरहेको छलफलमा आफू पुगेको र त्यहाँ ओलीले पार्टी एकता जोगाउनेका लागि आफूले एक पद छाड्न तयार रहेको भनेको गौतमले बताए ।

गौतमका अनुसार ओलीले त्यसले आफूले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने र उनकै नेतृत्वमा चुनावमा जानुपर्ने प्रस्ताव गरेको थिए । त्यससँगै आफूलाई लगाइएको आरोप फिर्ता लिनुपर्ने शर्त पनि राखेका थिए । 

‘२ अध्यक्षबीच भएको बैठकमा म पनि पुगेको थिएँ । त्यहाँ अध्यक्ष ओलीले म पार्टी एकता जोगाउन आएको छु । यसका लागि जे पनि गर्न तयार छु भन्नुभयो । म एउटा पद छाड्न तयार छु तर मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन तयार छु । जो व्यक्ति हो उहाँलाई जिताएर राष्ट्रिय सभामा लैजाऔं र उहाँलाई प्रधानमन्त्रीको उम्मेदवार बनाऔं । आज नै सचिवालय बैठक बोलाऔं र पत्रकार सम्मेलन गरेर यसको जानकारी दिऔं,’ ओलीको भनाई उदृत गर्दै गौतमले भने ।

ओलीको यो प्रस्तावमा नेताहरूबीच खासै छलफल नभएको र त्यसका लागि दुवै नेता सहमत भएका उनले बताए । 

गौतमले भने, ‘पहिलो विषयमा नेताहरूबीच धेरै छलफल भएन । उहाँहरू दुवै यसका लागि सहमत देखिनुभयो तर प्रचण्डले आरोपहरू फिर्ता लिन सक्दिनँ भन्नुभयो । उहाँले आरोपहरू फिर्ता लिनुभएको भए सायद पार्टी एकता जोगिन्थ्यो होला ।’

गौतमले नेकपा एकताको लागि आगामी १ वर्ष मेहनत गर्ने बताएका छन् । त्यसका लागि तत्काल काम शुरू गर्ने र १ वर्षमा पार्टी एकता गराउने लक्ष्य राख्ने बताए ।
 
गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको राष्ट्रिय भेला ललितपुरको धोबिघाटमा जारी छ । 

salt training

कमेन्ट गर्नुहोस्