३० असार २०८३, मंगलबार

सौगात र सलोन अभिनित ‘घनचक्कर’को व्यापार निकै कमजोर, धेरै हलबाट दुई दिनमै उत्रियो

सौगात र सलोन अभिनित ‘घनचक्कर’को व्यापार निकै कमजोर, धेरै हलबाट दुई दिनमै उत्रियो

गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘घनचक्कर’ले निकै कमजोर व्यापार गरेको छ ।

चलचित्र प्रदर्शनको दुईदिनमै धेरै हलबाट उत्रिसकेको छ । वितरक सुनिल मानन्धरले चलचित्रको व्यापार निकै कमजोर रहेको जानकारी दिए ।

‘हलमा दर्शक नै छैनन् । बिग मुभिजमा पहिलो दिन १२ जनाका लागि शो चलिरहेको थियो । व्यापार शून्य नै भन्दा पनि हुन्छ,’ मानन्धरले लोकान्तरसँग भने, ‘शुक्रवार र शनिबार दुई दिनको व्यापार पाँच/सात लाख पनि नहोला ।’

उनले धेरै चलचित्रको व्यापार बाहिर सार्वजनिक हुने गरेको जस्तो नहुन पनि सक्ने बताए । 

‘चलचित्रको व्यापारबारे धेरैले हावा जानकारी दिने गरेका छन्,’ उनले थपे ‘मलाई त नचलेकोलाई नचलेको भन्न लाज लाग्दैन । नेपालमा पाँच/सातवटा चलचित्र चल्ने हो । अरु सबैको व्यापार यस्तै यस्तै हुने हो ।’

धेरैले विदेश चलचित्र प्रदर्शनको लागि सहज हुने भन्दै नेपालमा व्यापारको गलत आँकडा प्रस्तुत गर्ने गरेको उनी दाबी गर्छन् ।

कमेडी र सस्पेन्स चलचित्रमा सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका छ ।

गाउँबाट शहर पुगेर डेरा गरी बस्ने बेरोजगार युवाहरूको कथावस्तुमा चलचित्र आधारित छ । जितेन्द्र राजोपाध्याय निर्देशित चलचित्रमा सौगात र सलोनका अलावा सरोज खनाल, जेवी डिसी, शिशिर भण्डारी, आशान्त शर्मा, कस्मिरा लामा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन लगायतको अभिनय छ ।

अर्जुन सिंहको कथा, काजी लिम्बुको पटकथा तथा संवाद रहेको चलचित्रमा करुणा अर्याल र संगम भट्टले लगानी गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्