
काठमाडौं, ८ साउन — हङकङबाट निस्कने साउथ चाइना मर्निङ पोस्टको आइतवारको संस्करणमा सौरभ गुप्ताले एक टिप्पणी लेखेर भारतले चीनसँग जोरी खोज्न नहुने सुझाव दिएका छन् । गुप्ता अमेरिकाको वाशिङटनस्थित इन्स्टिच्युट फर चाइना–अमेरिका स्टडिजका सिनियर फेलो हुन् ।

‘डोक्लाम क्षेत्रमा पहिलेकै स्थितिमा पुग्न गाह्रो देखिन्छ,’ उनले लेखेका छन्, ‘द्विपक्षीय सम्बन्धहरू अहिले निकै चिसिएका छन् ।’
गुप्ताको तर्कअनुसार भुटान र चीनबीचको मुद्दामा भारत घुस्न पुगेको अवस्थामा चीनले समस्या समाधानका लागि भारत उपयुक्त पात्र हो भन्ने ठानेकै छैन ।
सन् १८९० को सम्झौता बमोजिम निर्धारण गरिएको सीमाभन्दा पर गएर चीनको सडक निर्माण परियोजनामा हस्तक्षेप गरी भारतले चीनको भौगोलिक सार्वभौमसत्तामा अतिक्रमण गरेको गुप्ताको भनाइ छ । संवादको पूर्वशर्तका रूपमा भारतले निःशर्त अतिक्रमण रोक्नुपर्ने उनी लेख्छन् ।
डोक्लाममा चीनको क्षेत्राधिकार भएकाले भारत त परै जाओस् भुटानले पनि त्यहाँ हस्तक्षेप गर्न नमिल्ने गुप्ता लेख्छन् ।
‘डोक्लाममा भारतीय सेनाको हस्तक्षेपमा गम्भीर राजनीतिक जोखिम रहेको छ । उच्च जोखिमयुक्त अभियानमा संलग्न भएकाले यसबाट बाहिर निस्कने भार पनि भारतमै परेको छ,’ गुप्ता लेख्छन् ।
डोक्लाम विवाद सुल्झाउनका लागि चीनसँग सिधै वार्ता गर्ने कानूनी हैसियत समेत भारतको नभएको, बरू भुटानसँग त्यसको हैसियत रहेको गुप्ताको भनाइ छ ।