२३ असार २०८३, मंगलबार

गरिवमाथि अत्याचार : उपचारको क्रममा छोराको मृत्यु, पीडित बाबुमाथि प्रहरीको कुटपिट

कात्तिक २०, २०७४
गरिवमाथि अत्याचार : उपचारको क्रममा छोराको मृत्यु, पीडित बाबुमाथि प्रहरीको कुटपिट
जनकपुरधाम ८ साउन

घटना १

जनकपुर अञ्चल अस्पतालको चरम लापरवाहीको कारण गएको बुधवार एक बालकको ज्यान गयो । मिथिला विहारी गाउँपालिका १० ठेरा बस्ने कैलाश मण्डलका १३ वर्षका छोरा राजा मण्डलको अस्पतालको लापरवाहीले ज्यान गएको हो ।


बालकलाई एक्कासी ज्वरो आएपछि ४ साउनको विहान ९ बजे जनकपुर अञ्चल अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । त्यसपछि चेकजाँच गरि चिकित्सकहरुले भर्नाको लागि बेड खाली नभएको भन्दै फर्काएका थिए । बालकको स्वास्थ्य अवस्था खराब भएपछि साँझ ६ बजे पुनः जनकपुर अञ्चल अस्पतलकै अकास्मिक कक्षमा भर्ना गराएपछि केहि समय पश्चात वच्चा वार्डको बडेमा पठाएर उपचार शुरु गरिएको बुबा कैलास मण्डल बताउछन् ।

राति ९ बजे बालकको स्वास्थ्य अवस्था झनै खराब हुन थालेपछि ड्यूटीमा रहेका नर्स नैनतारा साह र कविता चौधरीलाई बुबा कैलासले पटक पटक छोरालाई हेरदिनुस् भनेर गुहार गरेका थिए । राति १२ बजे बालकको अवस्था अत्यन्तै चिन्ताजनक भएपछि ड्यूटीमा रहेकी नर्सले लेखेर सुइ किन्न लगाइन । त्यो सुइ लगाएपछि बालकको अवस्था झनै चिन्ताजनक भएको मृतक बालकका बुवाको भनाइ छ ।

कार्यकक्षमा मोवाईल चलाएर बसेका नर्सहरुलाई बुबा कैलाशले गुहार लगाउँदै ‘मेरो छोरालाई हेरि दिनुस् । नत्र मरि हाल्छन्’ भन्दा ड्यिुटीमा रहेका नर्सहरुले ‘कच कच नगर्नु, मैले तपाईको छोराको ठेक्का लिएको छैन’ भन्दै जवाफ फर्काएका पीडित परिवारका सदस्यहरु बताउछन् ।
मृतक जितेन्द्र मण्डलका शोकाकुल परिवार ।


मृतक बालकका बुवा मण्डलका अनुसार अस्पतालमा कार्यरत नर्सहरु मोवाईल चलाएर बसेका थिए । वच्चा वार्डमा ड्यूटीमा रहेका डा.बैद्यनाथ ठाकुर ड्युटी छाडेर आफ्नो क्वाटरमा आराम गरिरहेका थिए ।

छोराको मृत्यु पश्चात विछिप्त भएका बुबा कैलाशलाई प्रहरीले दुई घण्टा नियन्त्रणमा लिएर कुटपीट गरि छाडेका थिए । प्रहरीले समातेर जिल्ला प्रहरीमा लगि गालीगलौज सहित झापड हानेका थिए । बुबा कैलाशले रुदै भने ‘यो कहाँको न्याय हो ? एकातर्फ नर्सको लापरवाहीले मेरो छोरो मरेको छ, अर्को तर्फ प्रहरीले उल्टै मलाई समातेर लगि चोर बदमास र तथानाम गाली गर्दै झाप्डै झापड हिर्कायो ।’

बुबा कैलासले उचित क्षतिपुर्ति र दोषी चिकित्सक र प्रहरीलाई कारबाही लागि पहल गरि दिन सबैपक्षसंग गुहार गरेका छन् । छोराको मृत्यु पश्चात आमा सन्तोषिया देवी अचेत हुने गरेकी छिन् । तीन छोरी र एक मात्र छोरा सन्तानको रुपमा रहेकोमा छोराको मृत्यु भईसकेपछि अब आफुहरुको जीवन पनि अन्धकारमा परेको ती पीडित आमा बुवाले बताएका छन् ।

ड्यूटीमा भएका नर्स नैनतारा साहले डा.बैद्यनाथ ठाकुरसँग सोधेर नै बालकलाई इन्जेक्सन दिएपनि बालकको मृत्यु अस्पतालबाट लगेपछि भएको दावी गरिन् । आफुमाथि मृतक बालकका पिता कैलाशले लठ्ठी बजारेपछि प्रहरीलाई बोलाएको नर्स साहले बताईन् ।

चिकित्सकको लापरवाहीका कारण एक बालकको ज्यान गएको खबर सुनेपछि ठेरा गाउँका मानिसहरु आएर अस्पताल परिसरमा दोषीलाई कारवाही गरिनुपर्ने तथा पीडित परिवारलाई क्षतिपुर्ती दिनुपर्ने लगायतका नारावाजी गर्दै विरोध प्रदर्शन गरेका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय धनुषामा सहायक प्रमुख जिल्ला अधिकारी किशोर चौधरीको कार्यकक्षमा सुरक्षा निकाय, पीडित परिवार र अस्पतालका चिकित्सकहरु बोलाई छलफल गरिएको थियो ।

अस्पतालको तर्फबाट डा.नागेन्द्र यादव, डा.रामनरेश पंडित, डा.बैद्यनाथ ठाकुर, नर्स नैनतारा साह लगायत उपस्थित थिए । करिब २\३ घण्टासम्म भएको उक्त छलफलबाट उक्त घटनाको छानविन गर्नका लागि अस्पताल विकास समितिका सदस्य रामप्रबोध महतोको संयोजकत्वमा ५ सदस्यीय अधिकार सम्पन्न छानविन समिति गठन गरियो । १५ दिन भित्र छानविन गरी प्रतिवेदन बुझाउने म्याद दिइएको छ ।

त्यसपछि मृतक अति विपन्न दलित समुदायका भएका कारण अस्पताल प्रशासनले मृतक बालकको क्रिया खर्चका लागि १० हजार रुपैयाँ उपलब्ध गराएपछि पीडित परिवारले शव बुझेर दाह संस्कार  गरेका थिए ।

बालक मृत्यु सन्दर्भमा अस्पतालको धारणा

यता जनकपुर अञ्चल अस्पताल प्रशासनले मृतक भएका बालक जितेन्द्र मण्डलको मृत्युमा अस्पताल प्रशासन जिम्मेवार नभएको दावी गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुप्रिटेन्डेन्ट डा.रामपरिक्षण यादवले ५ साउन २०७४ मा जारी गरेको प्रेस विज्ञप्तीमा जितेन्द्र मण्डलको उपचार भईरहेकै अवस्थामा मध्य रातको समयमा अस्पताल बाहिर लगि मृत्यु भएपछि फेरी अस्पतालमा ल्याएको हुँदा घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ ।
मृतक जितेन्द्र मण्डलका पिता कैलाश मण्डल जसलाई उल्टै प्रहरीले गिरफ्तार गरी कुटपिट गरेका थिए


४ साउनमा मण्डललाई अस्पतालको ओपिडीमा जाँच गराउन ल्याएको, जाँच पछि घर फर्किसकेको बेला अबेर साँझ अचानक अवस्था गम्भीर भएपछि फेरी अञ्चल अस्पतालमा ल्याई इमरजेन्सी कक्षमा प्रारम्भिक उपचार पछि बच्चा वार्डमा भर्ना गरिएको अस्पतल प्रशासनको दावी छ ।

बच्चाको स्वास्थ्य अवस्था गम्भीर भएपछि अक्सिजन लगाउँदा बारम्बार अक्सिजनको पाईप निकालेर फालिदिने गर्न थालेपछि उपचार गर्न पनि अप्ठ्यारो भएको थियो भन्दै प्रमुख मेसु यादव भन्छन,“राति करिब १२ बजेसम्म बच्चाको स्वास्थ्य खतरा मुक्त नै थियो । करिब १ बजे बालकलाई अस्पताल बाहिर लगेको र डेढ घण्टा पछि एम्बुलेन्सबाट पुनः अस्पतालको इमरजेन्सी कक्षमा ल्याएर राखिएको थियो ।”

इमरजेन्सी कक्षमा डा.केडी दासद्वारा जाँच पडताल गरी पहिले नै मृत्यु भईसकेको र कहाँबाट ल्याएको समेत सोधपुछ गर्दा मृतक बालकका बुवा कैलाश मण्डलले मृतक बच्चालाई त्यहीँ छाडी बच्चा वार्डमा पुगेर स्टाफ नर्स कविता चौरसियालाई लाठीले हानेपछि एक पटक हातले रोक्न सफल भईन भने अर्को पटक हानेपछि नर्सलाई हातमा चोट लागेको थियो, प्रमुख मेसु यादव भन्छन,“ अस्पताल भित्रै स्वास्थ्यकर्मी माथि आक्रमण भएपछि सुरक्षामा खटिएका प्रहरीले कैलाश मण्डललाई नियन्त्रणमा लिएको थियो ।”

घटना २

१४ अषाढ २०७४ मा गर्भवती महिला पूजा हमाल सिंह जनकपुर अञ्चल अस्पतालमा भर्ना भइन् । पेट दुखेपछि डेलिभरीका लागि पुजालाई उनका श्रीमान रोशन सिंहले अस्पतालमा भर्ना गराएका थिए । त्यस अघि अस्पतालमै कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञ चिकित्सक डा.विजय कुमार सिंहको निजी क्लिनिकमा पुजाको नियमित चेक जाँच गराउने गरिएको थियो ।
अञ्चल अस्पतालको चिकित्सकको लापरवाहीका कारण ज्यान जोगाएकी पुजा हमाल सिंह ।


बच्चा जन्माउनका लागि पुजालाई अञ्चल अस्पतालमा भर्ना गराएपछि चिकित्सकहरुले विभिन्न चेक जाँच समेत गरे । चिकित्सकले जन्डिसको समेत चेक जाँच गराउन सुझाव दिएका थिए । १४ अषाढ दिनको २ बजे अस्पतालमा कार्यरत चिकित्सकहरुले त्यो रिपोर्ट नहेरिकन नै पुजाको अप्रेशन गरियो । अप्रेशन गरेर बच्चा सकुशल निकालिएपनि आमा पुजाको स्वास्थ्य अवस्था विग्रेको थियो ।

पुजाका श्रीमान रोशन सिंहका अनुसार चिकित्सकहरुले राति ८ बजे अप्रेशन गर्नुपर्छ, ४ पोका ओ पोजिटिव रगत व्यवस्थ ागर्न भनेका थिए । ‘हामीले ४ पोका व्लडको व्यवस्था समेत नेपाल रेडक्रसमा गरिसकेका थियौं । राति ८ बजे अप्रेशन गरिन्छ भनेर भनिएको थियो । तर अचानक दिनको २ बजे नै अप्रेशन गरियो ।’ रोशन सिंह भन्छन,“ पुजाको अवस्था विग्रदै गएपछि आईसियू भेन्टिलेटर भएको बेटर प्लेसमा प्यासेन्टलाई रेफर गर्न चिकित्सकहरुले सल्लाह दिए ।”

राति १ बजे एम्बुलेन्सले विरामीलाई काठमाण्डौको ओम अस्पतालमा भर्ना गराइयो । त्यसको दोस्रो दिनमै विरामीको शरीरको सबै अंगहरु निष्कृय भई अन्ततःमृत्यू भयो ।

जनकपुरमा चिया पसल संचालन गरी आफ्नो जिविकोपार्जन  गरिरहेका रोशन सिंह आर्थिक रुपले विपन्न छन् । काठमाण्डौमा उपचार गराउँदा ओम अस्पतालको दुई लाख जति विभिन्न ठाउँबाट कर्जा लिएर तिरेका थिए ।
तर औषधिको बाँकी रहेको ७० हजार रुपैयाँ तिर्न पैसा नभएपछि १८ घण्टा सम्म लाशलाई ओम अस्पतालले कब्जामा राख्यो, रोशन सिंह भन्छन,“विदेशमा रहेको आफन्तबाट आईएमई मार्फत पैसा झिकाई बाँकी रहेको ७० हजार तिरेपछि लाश अस्पतालले दिएको थियो ।” अनि काठमाण्डौमै रोशनले आफ्नो मृतक पत्नीको दाहसंस्कार गरेका थिए ।

काठमाण्डौमा उपचार गराउँदाको अवस्थामा प्यासेन्टमा जन्डिस रोग पहिले देखि नै भएको अवस्थामा जनकपुरमा अप्रेशन कसरी गरियो, अप्रेशन नगर्नुपर्ने भनेर चिकित्सकहरुले बताएका थिए । रोशन सिंह भन्छन,“मेरो श्रीमतिलाई जन्डिसको चेक जाँच गर्न जनकपुर अञ्चल अस्पतालमा चिकित्सकले भनेको थियो भने जन्डिसको रिपोर्ट नहेरिकन डाक्टरले अप्रेशन गर्यो । अस्पतालको लापरवाहीका कारण मेरो श्रीमतिको ज्यान गयो ।”

माथिका दुई घटना उदाहरण मात्र हुन । जनकपुर अञ्चल अस्पतालमा चिकित्सकहरुको लापरवाहीका कारण विभिन्न समयमा विरामीहरु मरेको भनेर स्थानीय संचार माध्यमहरुमा समाचार प्रकाशन हुन्छ । तर, अस्पताल प्रशासन र अस्पतालमा कार्यरत चिकित्सकलाई ती घटनाहरुले कुनै असर पर्दैन ।

अस्पतालमा कार्यरत चिकित्सकहरु आफ्नो ड्यूटीको समयमा पनि निजी क्लिनिकमा बढी समय दिने गरेको गुनासो पटक पटक सुन्ने गरिन्छ । यहाँसम्मकी जनकपुर अञ्चल अस्पतालका मेसु डा.रामपरिक्षण यादव समेत जनकपुर अञ्चल अस्पतालमा भन्दा आफुले अवैध रुपमा सञ्चालन गरेको कृष्णा नर्सिंगहोममा बढी समय दिने गरेको सर्वसाधारणहरुको गुनासो छ ।

४ बर्षमा ४ सय ७५ जनाको उपचारका क्रममा मृत्यु

पछिल्लो ४ बर्षमा जनकपुर अञ्चल अस्पतालमा ४ सय ७५ जना विरामीहरुको उपचारको क्रममै मृत्यु भएको छ । अस्पतालको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०६९\०७० मा १ सय ४२ जना, आर्थिक बर्ष २०७०\०७१ मा १ सय १७ जना, आर्थिक बर्ष २०७१\०७२ मा १ सय १३ जना  र आर्थिक बर्ष २०७२\०७३ मा १ सय ३ जना गरी पछिल्लो ४ बर्षमा ४ सय ७५ जना विरामीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी प्रसुति गृहमा प्रसुति महिलाहरुले जन्म दिएका नवजात शिशुहरु मध्ये पछिल्लो ४बर्षमा २ सय ३८ जना नवजात शिशुहरुको अञ्चल अस्पतालमा मृत्यु भएको छ ।  आर्थिक बर्ष २०६९\०७० मा ७५ जना, आर्थिक बर्ष २०७०\०७१ मा ६६ जना, आर्थिक बर्ष २०७१\०७२ मा ५० जना र आर्थिक बर्ष २०७२\०७३ मा ४७ जना गरी पछिल्लो ४ बर्षमा २ सय ३८ जना नवजात शिशुहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी बच्चा जन्माउन गएका गर्भवती महिलाहरु मध्ये पछिल्लो ४ बर्षमा २८ जना आमाहरुको अञ्चल अस्पतालमा मृत्यु भएको छ । आर्थिक बर्ष २०६९\०७० मा ११ जना, आर्थिक बर्ष २०७०\०७१ मा ६ जना, आर्थिक बर्ष २०७१\०७२ मा ६ जना र आर्थिक बर्ष २०७२\०७३ मा ५ जना गरी पछिल्लो ४ बर्षमा २८ जना आमाहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

यसरी हेर्ने हो भने अस्पतालकै तथ्याङ्कले पनि अञ्चल अस्पतालमा उपचारका लागि जाने विरामीहरुको मृत्यु हुनुले अस्पताल प्रशासन र अस्पतालमा कार्यरत चिकित्सकहरुको लापरवाही बढ्दै गएको प्रष्ट हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्