
नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक आज सोमवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।
बैठकमा पार्टीको देशभर भएका सांगठनिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए ।
पार्टीका महासचिव डा. बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल गरिने कार्यक्रम छ । मुलुकमा संविधान र राजनीतिक व्यवस्था संरक्षणका लागि तत्कालीन नेकपा एमालेबाट विद्रोह गरी सो पार्टी स्थापना गरिएको, कम्युनिस्ट आन्दोलनमा देखापरेको विसर्जनवाद र अवसरवादका विरुद्ध जनतालाई एकताबद्ध गर्न पार्टीको औचित्य र आवश्यकता तथा आगामी कार्यदिशाबारे प्रतिवेदनमा उल्लेख छ ।
देशभरबाट करीब १ हजार ५०० नेता, कार्यकर्ता सहभागी हुने परिषद् बैठकको पार्टी अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्नेछन् ।