०५ साउन २०८३, मंगलबार
प्रतिनिधि सभा निर्वाचनको पूर्व तयारी

शंकर पोखरेल र महरा भिड्दा को होला हावी ? यस्तो छ दाङको चुनावी जोडघटाउ

असार १३, २०७९
शंकर पोखरेल र महरा भिड्दा को होला हावी ? यस्तो छ दाङको चुनावी जोडघटाउ

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दाङमा पनि उम्मेदवार चयनका लागि प्रमुख तीन दलका नेताहरूले गृहकार्य शुरू गरेका छन् । 

दाङ एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला र नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महरा चुनाव लड्दै आएको जिल्ला हो । 

गएको निर्वाचन (२०७४) मा तत्कालीन नेकपा हुँदा क्षेत्र नम्बर २ बाट महरा प्रतिनिधि सभा र पोखरेल प्रदेश सभामा चुनाव लडेका थिए । तर, यसपटक भने पोखरेल र महरा आमने–सामने हुने अवस्था देखिएको छ ।

कृष्णबहादुर महरा

यसअघि महराले कांग्रेस उम्मेदवार राजु खनाललाई १४ हजार १४५ मतान्तरले हराएका थिए । महराले ४० हजार ४२ मत पाएका थिए भने खनालले २५ हजार ८९७ मत पाएका थिए ।

पोखरेल क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभामा निर्वाचित भएर लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत बने । 

पोखरेलले प्रतिस्पर्धीभन्दा ९ हजार ५२५ मत बढी प्राप्त गरेका थिए । उनले २० हजार ६९४ मत ल्याउँदा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १६९ मत मात्रै ल्याएका थिए । 

शंकर पोखरेल

अर्को क्षेत्रबाट प्रदेश सभातर्फ एमालेकै अमरबहादुर डाँगी निर्वाचित भएका थिए । तर, पोखरेलले आफूलाई पाखा लगाएको भन्दै पुराना नेता डाँगी प्रदेश सांसदबाट राजीनामा दिएर माओवादी प्रवेश गरेका छन् । 

उनी अहिले मुख्यमन्त्री कूलप्रसाद केसीका प्रमुख राजनीतिक सल्लाहकार छन् । 

एमाले दाङका सचिव मनोहर बुढाथोकीले क्षेत्र नम्बर २ मा एमालेबाट महासचिव शंकर पोखरेल ‘फाइनल’ उम्मेदवार रहेको बताए ।

‘हामीले स्थानीय तह निर्वाचनमा गठबन्धनविरुद्ध घोराही र तुलसीपुर उपमहानगरपालिका जित्यौं,’ बुढाथोकीले लोकान्तरसँग भने, ‘शक्तिशाली पार्टीको महासचिव उम्मेदवार बन्ने भएपछि दाङका जनता उहाँलाई जिताउन चाहन्छन् ।’ 

लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङको भालुवाङ सार्न सफल भएपछि महासचिव पोखरेललाई त्यसको केही फाइदा आउँदो निर्वाचनमा हुने एमालेले अपेक्षा गरेको छ । 

क्षेत्र नम्बर २ बाट महरासँगै कांग्रेसका राजु खनाल यस पटक पनि उम्मेदवारको आंकाक्षी छन् । क्षेत्र नम्बर २ मा घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका ४ वटा वडा पर्छन् ।

बंगलाचुली गाउँपालिकामा माओवादी केन्द्रले जितेको छ भने घोराही उपमहानगरपालिका एमाले जितको छ । गएको निर्वाचनमा घोराही र तुलसीपुरमा गठबन्धन पराजित भएपछि कांग्रेस र माओवादी केन्द्र एक अर्कोलाई अन्तरघातको आरोप लगाउनमा व्यस्त छन् । जसले गर्दा क्षेत्र नम्बर २ मा गठबन्धनमा उत्साह छैन । माओवादीको एउटा पक्षले महरा समानुपातिकमा बस्न पनि सक्ने बताएको छ । 

माओवादी केन्द्र दाङका सह–इन्चार्ज निर्मल आचार्यले कृष्णबहादुर महरा प्रत्यक्ष निर्वाचन लड्ने बताए । ‘हामी जिल्लामा गठबन्धन भए लचक छौं । जुन क्षेत्र परे पनि लिएर चुनाव लड्छौं । प्रतिनिधि सभाको टिकटमा महरा सर नै उम्मेदवारमा प्राथामिकतामा पर्नुहुन्छ ।’ माओवादी अहिले स्थानीय निर्वाचनको समीक्षा गर्दै संगठन विस्तार र सुदृढीकरण अभियानमा छ । 

अहिले सत्तारूढ गठबन्धन जारी रहे क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरी उम्मेदवार बन्नेछन् । उनी २०७४ मा एमालेबाट निर्वाचित भएका थिए । चौधरीसँग एमालेबाट प्रदेश सभा सदस्य एमाले केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्मा बलिया उम्मेदवार छन् । एमालेबाट शर्मासँगै सांसद गंगा चौधरीको पनि चर्चा छ । 

यसअघि पहिलोपटक निर्वाचन लडेका मेटमणिले ३७ हजार ९०८ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सुशीला चौधरीले २४ हजार ७४ मत पाएकी थिइन् । क्षेत्र १ को प्रदेश सभातर्फ शर्मा र माओवादी केन्द्रका इन्द्रजीत थारूले जितेका थिए । थारूले पहिलो संविधान सभा निर्वाचनमा कांग्रेसका तत्कालीन प्रभावशाली नेता स्व. खुमबहादुर खड्कालाई पराजित गरेका थिए ।

नेकपा एकीकृत समाजवादी दाङका अध्यक्ष सुरामणि बेल्बासेले क्षेत्र नम्बर १ बाट मेटमणि नै उम्मेदवार बन्ने बताए ।

‘अहिलेको गठबन्धन मंसिर वा फागुनमा हुने चुनावसम्म रह्यो भने दाङका तीनवटा क्षेत्र १/१ वटा गरी तीन दललाई बाँडफाँड हुन्छ होला । त्यो भएपछि क्षेत्र नम्बर १ बाट मेटमणि नै उम्मेदवार हो,’ बेल्बासेले लोकान्तरसँग भने । 

प्रदेश सभाका ६ वटामा पनि २/२ वटा बाँडफाँड गरेर अगाडि बढ्न सकिने उनको दाबी छ । बेल्बासेले, ‘हामी नयाँ पार्टी हौं । पार्टी स्थापनाको केही समयमै स्थानीय तहको निर्वाचनमा जानुपर्ने अवस्था आयो । स्थानीय तहमा पनि सम्मानजनक अवस्थामा आएका छौं । आउँदो निर्वाचनमा स्थानीय तहको भन्दा पार्टीले राम्रो मतसहित जीत निकाल्छ ।’ 

मेटमणि चौधरी

क्षेत्र नम्बर १ मा लमही नगरपालिका, गढवा, राप्ती र राजपुर गाउँपालिका तथा घोराही उपमहानगरपालिकाका ४ वटा वडा पर्छन् । गएको पालिका निर्वाचनमा लमही र राजपुर कांग्रेस तथा गढवा र राप्ती माओवादी केन्द्रले जितेका छन् । 

दाङको क्षेत्र नम्बर ३ मा एमालेबाट घनश्याम पाण्डे र निवर्तमान राष्ट्रिय सभा सदस्य कोमल वलीमध्ये कोही एक उम्मेदवार हुने चर्चा छ ।

पाण्डे तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर हुन् । अहिलेको पालिका निर्वाचनमा पनि तुलसीपुरमा एमालेलाई जिताएपछि उनको पक्षमा माहोल बलियो बन्दै गएको जिल्ला नेताहरू बताउँछन् । तर, कोमल वलीले केन्द्रमा पहुँच बनाएकाले उनले टिकट ल्याउन सक्ने तर्क पनि एमालेको एउटा समूहको छ ।

उक्त क्षेत्रमा कांग्रेसबाट दीपक गिरीको चर्चा छ । पूर्वमन्त्री समेत रहेका गिरी यसअगाडि पनि उम्मेदवार थिए । यो क्षेत्रबाट यसअगाडि हिराचन्द्र केसी विजयी भएका थिए । केसी अहिले नेकपा एकीकृत समाजवादीमा छन् । केसीले ४० हजार २८७ मतका साथ विजयी हुँदा गिरीले ३३ हजार ७३० मत ल्याएका थिए । 

प्रदेश सभातर्फ क्षेत्र नम्बर ३ (क) मा कांग्रेसका डिल्लीबहादुर चौधरीले जितेर त्योबेला जिल्लामा पार्टीको साख जोगाएका थिए । 

दाङमा वाम गठबन्धनले बर्चस्व जमाइरहेका बेला चौधरीले माओवादी उम्मेदवार जगप्रसाद शर्मालाई २ हजार ३३६ मतान्तरले हराउँदै कांग्रेसलाई ‘क्लिन स्वीप’ हुनबाट जोगाएका थिए । चौधरी अहिले लुम्बिनी प्रदेशको मन्त्री छन् । 

रूकुम घर भएका शर्मालाई दाङबाट उम्मेदवार बनाइएको भन्दै माओवादीभित्र चुलिएको असन्तुष्टिको फाइदा त्यो बेला चौधरीले लिएका थिए । 

प्रदेश सभातर्फ क्षेत्र नम्बर ३ ‘ख’मा एमाले उम्मेदवार उत्तरकुमार वली निर्वाचित थिए । वलीको सडक दुर्घटनामा ३ वर्ष अगाडि निधन भएको छ । 

वलीको क्षेत्रबाट उपनिर्वाचनमा उनकी धर्मपत्नी विमला वली निर्वाचित भएकी थिइन । हाल उनी माओवादीमा छिन । उनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री छिन् । 

नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीले संघीय चुनावसम्म गठबन्धन कायम रहे तीन दलबीच बाँडफाँड हुने बताए ।

क्षेत्र नम्बर ३ मा गिरीको चर्चा बढी रहेको उनले स्वीकार गरे । डाँगीले भने, ‘स्थानीय निर्वाचनले जिल्लामा केही अपवादबाहेक राम्रो गरेको देखियो । संघमा पनि राम्रो परिणाम आउँछ भन्ने हाम्रो अहिलेसम्मको अपेक्षा हो । जनाधार पनि त्यहीअनुसार अगाडि बढेको छ ।’ 

क्षेत्र नम्बर ३ मा बबई, शान्तिनगर र दंगीशरण गाउँपालिका तथा तुलसीपुर उपमहानगरका केही वडा पर्छन् । तुलसीपुरबाहेक तीनवटै क्षेत्रमा कांग्रेसले जितेको छ ।

दाङमा २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन ५ वटै क्षेत्रमा माओवादी केन्द्रले जीत निकालेको थियो ।

त्यस्तै २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा पूरै ५ वटै क्षेत्रमा कांग्रेस विजयी भएको थियो ।

२०७४ मा एउटा प्रदेश सभा क्षेत्रबाहेक अरू सबैमा वाम गठबन्धन विजयी भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्