०१ असार २०८३, सोमबार

भारतीय जंगलमा २ नेपाली महिला बलात्कृत, ४ जना पक्राउ

भारतीय जंगलमा २ नेपाली महिला बलात्कृत, ४ जना पक्राउ
प्रतीकात्मक तस्वीर ।

भारतीय भूमिमा दुई नेपाली महिलामाथि बलात्कार गरेको आरोपमा चार जना भारतीय नागरिक पक्राउ परेका छन् । 

भारतको उत्तर प्रदेशस्थित बलरामपुर जिल्लाको हरैया थानाले घटनामा संलग्न रहेको आरोपमा चार भारतीय युवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्द रिजालले पुष्टि गरेका छन् ।

‘घटनास्थल भारतीय क्षेत्र हो । शंकास्पद चार जनालाई हरैया थानाले नियन्त्रणमा लिएको छ,’ उनले भने,  ‘यो घटनाको एफआईआर हरैया थानामा दर्ता हुन्छ र त्यहीँबाट कानूनी प्रक्रिया अघि बढ्छ ।’ 

भारतीय युवाहरूको समूहले राजपुर गाउँपालिका-६ खांग्रा निवासी दुई महिलालाई बलात्कार गरेको र चार जना माथि कुटपिट गरेको जानकारी आएपछि नेपाल र भारतीय पक्षका सुरक्षा अधिकारीहरु घटनास्थल पुगेका थिए ।

खांग्रा नाकामा बसोबास गर्ने नेपालीहरू खाद्यान्नका लागि भारतीय बजार मनिपुर जाने गर्छन् । बीचमा चार किलोमिटर जंगलको बाटो पर्छ । त्यही जंगलमा भारतीय लुटेराहरूले महिलामाथि जबर्जस्ती करणी गरेको, कुटपिट र लुटपाट गरेको प्रहरी स्रोतले जनाएको छ । 

खांग्रा नाका पुग्न राजपुर-५ जंग्रहवाको सडक भए पनि बर्खाका कारण सडक बिग्रेको छ । कोइलावास हुँदै भारतीय भूमि प्रयोग गरेर खांग्रा पुग्नुपर्ने बाध्यता छ । ‘राम्रोसँग फोन लाग्दैन, त्यहाँ पुग्न सजिलो बाटो छैन,’ डीएसपी रिजालले भने, ‘खांग्रा प्रहरी चौकीको टोलीलाई परिचालन गरेका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्