
काठमाडौं, ८ साउन — मरिन जनरल जोसेफ डनफोर्डले अमेरिकीहरू उत्तर कोरियाविरुद्ध सैन्य भिडन्तका लागि तयार रहनुपर्ने बताएका छन् । उनले उत्तरको आणविक कार्यक्रम एक खतराका रूपमा रहेको समेत बताए ।

प्योङयाङलाई आणविक हतियार कार्यक्रम त्याग्नका लागि निरन्तर आर्थिक तथा कूटनीतिक दबाब दिनुपर्नेमा उनले जोड दिएपनि सैन्य विकल्प हुनु नहुने भन्ने धारणालाई खारेज गरे ।
‘धेरै मानिसले सैन्य विकल्प कल्पना पनि गर्न नसकिने बताउँछन् । तर मैले शत्रु तथा मित्र दुवैलाई भन्ने गरेको छु, उत्तर कोरियाको आणविक क्षमता बढ्दै जाँदा सैन्य विकल्प राख्नु कल्पनामै पर्ने कुरा हो,’ डनफोर्डले भने । अमेरिकी भूमिमा उत्तरको आणविक हतियार आइपुग्दा त्यसले पु–याउने क्षति झन् भयावह हुने उनी बताउँछन् ।
डनफोर्डले शनिवार राष्ट्रिय सुरक्षा अधिकारी तथा विज्ञहरूको सम्मेलन एस्पन सेक्युरिटी फोरममा बोलेका थिए । उत्तर कोरियाले अघिल्लो महिना अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि उनको यो टिप्पणी आएको हो ।
अहिलेको अवस्थामा प्योङयाङले क्षेप्यास्त्रमा आणविक हतियार प्रहार गर्ने क्षमता हासिल गरेको देखिँदैन तर समग्र हतियार प्रणालीमा उसले गरेको प्रगति राष्ट्रपति डोनल्ड ट्रम्पका लागि ठूलै टाउकोदुखाइ बनेको छ ।
एजेन्सी