
ज्ञानेन्द्र देउजाले आफू निर्देशित चलचित्र ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक गरेका छन् ।
यूट्युबमार्फत सार्वजनिक गरिएको ३० सेकेण्डको टिजरमा झिँगा, सिक्का र चलचित्रकी मुख्य अभिनेत्री केकी अधिकारीको स्वर सुन्न सकिन्छ ।
नेपालमा चलचित्रको टाइटल टिजर सार्वजनिक भएको बिरलै देख्न र सुन्न पाइन्छ ।
निर्देशक देउजाले सार्वजनिक टाइटल टिजरबाट चलचित्रको कथासार बुझाउन खोजेकोे बताउँछन् । निर्माता समेत रहेका उनले ‘झिँगेदाउ’को अर्थ बुझाउन पनि आफूले टाइटल टिजर सार्वजनिक गर्नुपरेको बताए ।
आगामी भदौ १७ गतेबाट नेपालभरका चलचित्र हलमा रिलिज यो चलचित्र रिलिज हुनेछ । चलचित्रको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम सकिएकाले अब आफू पूर्ण रूपमा चलचित्रको प्रचारमा केन्द्रित रहेको निर्देशक देउजाले बताए ।
कपनगढी सिनेमा र फिल्म क्रियू नेपालको ब्यानरमा निर्माण भएको चलचित्र भीमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित छ । प्रदीप भारद्वाजको पटकथा तथा संवाद रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरेको छायांकन, मित्र डी गुरुङको सम्पादन छ ।
सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको चलचित्रका सहनिर्माताको रूपमा सुशील दाहाल र ईश्वर घिमिरे छन् ।
चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल र कुशल विष्टको मुख्य भूमिका छ । चलचित्रमा केकी र आँचल जेठानी–देउरानीको भूमिकामा देखिने छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको, केही दिनअघि श्रीकाली चौरमा खिचिएको चलचित्रको गीत आगामी हप्ता रिलिज गर्ने तयारी भइरहेको छ ।