०५ साउन २०८३, मंगलबार

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य समाचारसहित उपस्थित भएका छौँ–
००००
सर्वोच्च अदालतका न्यायाधीशहरूबीच निजगढ विमानस्थलसम्बन्धी फैसलामा मत बाझिएको छ । पाँच न्यायाधीशले गरेको फैसलामा तीन जनाले निजगढको विकल्प खोज्नुपर्ने राय दिएका छन् । 
न्यायाधीश हरिकृष्ण कार्की र मनोज शर्माले निजगढमै विमानस्थल बनाउन सकिने राय दिएका छन् । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा र प्रकाशमान सिंह राउतले निजगढको विकल्प खोज्नुपर्ने राय दिएका छन् । 
००००
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले स्वास्थ्य बीमा बोर्डले बिमितको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता प्रदान गर्ने जानकारी दिए ।
००००
काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १४ जनाको नमूना परीक्षणमा हैजा संक्रमण पुष्टि भएको हो । पहिलो संक्रमित बस्ने ठाउँ वरपर पानीको नमूना परीक्षण गर्दा कोलिफर्म भन्ने जिवाणु भेटिएको मन्त्रालयले जनाएको छ ।  यस्तै ललितपुरबाट १८ ठाउँको नमूना परीक्षण गर्दा १२ नमूनामा इकोलाइजी भन्ने जिवाणु भेटिएको मन्त्रालयले जानकारी दिएको छ ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र माओवादीको बीउ रोपिएको र केही समयमा फल्न थाल्ने बताएका छन् । 
केपी ओली प्रतिगमनकारी भए पनि त्यहाँभित्र ठूलो तप्का इमान्दार रहेको उनले बताए । 
विप्लवको पार्टी छाडेका केन्द्रीय सदस्यहरूलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले एमालेको मूल नेतृत्व नहुने हो भने हजारौँ कार्यकर्तालाई समाजवादको बाटोमा हिँडाउन सकिने बताएका हुन् ।
००००
नेकपा एमालेका नेता घनश्याम भुसालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा रोपेको भनिएको बीउ नउम्रिने दाबी गरेका छन् । रैथाने बीउले काम नगर्ने भन्दै फेरि हाइब्रिड बीउ आवश्यक परेको उनको टिप्पणी छ । 
वामपन्थी नेता सिद्धिलाल सिंहको अभिनन्दन कार्यक्रमलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै भुसालले प्रचण्डलाई जवाफ फर्काएका हुन् ।
००००
सर्वसाधारणका घरमा गएर परिवारमाथि नै धावा बोल्ने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् । वलीले राज्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको मुख्यमन्त्री कूलप्रसाद केसीले बुधवार प्रदेश सभामा जानकारी गराएका छन् ।
००००
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा बुधबार खेतमा काम गरी दहीच्युरा खाएर मनाइयो । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् । धान दिवसर सरकारले खुमलटारमा एक कार्यक्रम गरी मनायो भने स्थानीयस्तरमा पनि मनाइयो । 
यसैक्रममा पोखरामा पनि धान दिवस मनाइएको छ ।  रोपाइँ कार्यक्रममा नेपाली मात्रै नभएर विदेशी पर्यटकहरू पनि रमाए । असारे गीत गाउँदै नाच्दै रमाइलो गरिएको थियो ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषिमा सुधार गर्न नेपालले धान उत्पादन वृद्धि गरी निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताएका छन् ।
अखिल नेपाल किसान महासंघले १९औं धान दिवसका अवसरमा बुधवार भक्तपुरको सिरुटारमा आयोजना गरेको रोपाइँ महोत्सवमा उनले अहिले हामी आफैंले गर्दै आएको लापरबाही, असावधानीको अन्त्य गर्दै कृषिको आधुनिकीकरण, प्रविधिकरण र व्यावसायीकरण गर्नसके धान आयात नभई निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताए ।
००००
काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले काठमाडौँमा उत्पादन हुने कुहिने फोहोरलाई मल बनाएर रासायनिक मलको हाहाकारलाई केही कम गर्न सकिने बताएका छन् ।  यसका लागि महानगरपालिका क्रियाशील रहेको उनले बताए ।  बुधबार असार १५ र राष्ट्रिय धान दिवसको शुभकामना दिँदै प्रमुख शाहले, जैविक फोहोरबाट मल बनाउने महानगरको सफलता र असफलताले देशभर नै उल्लेख्य फरक पार्नेमा आफू सचेत रहेको उल्लेख गरे ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।
पार्टीको केन्द्रीय प्रचार विभागले बुधवार जिल्ला अध्यक्षहरूसँग गरेको अन्तक्र्रियामा अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अहिलेदेखि नै प्रदेश, जिल्ला, वडा तहसम्म संगठन सुदृढीकरण गरी मतदाताका घरघरमा पार्टीले अवलम्बन गरेको विचार आदर्शलाई र्पुयाउनुपर्नेमा जोड दिए ।
००००
सप्तकोशी ब्यारेजको कुल  ५६ ढोकामध्ये २४ वटा ढोका खोलिएको छ । अबिरल वर्षापछि नदीमा पानीको बहाव बढेपछि २४ ढोका खोलिएको हो । 
 बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसैगरी अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा डुबान तथा पहिरोको समस्या देखिएको छ । साथै विभिन्न सडकहरु पनि अवरुद्ध बनेका छन् । 
००००
काठमाडौं महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष दिनेश महर्जन विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौं जिल्ला अदालतले महर्जनविरुद्ध पक्राउपुर्जी जारी गरेको हो । 

वडाध्यक्ष महर्जनले ज्येष्ट नागरिक महानगर प्रोत्साहन भत्ताबापत पाउनुपर्ने १२ हजार रुपैयाँ रकम दुरुपयोग गर्ने मनसायले सरकारी कागज किर्ते गरेको बताइएको छ ।
००००
काठमाडौं महानगरपालिका–४, बालुवाटारस्थित सुनौलो परिवार नेपाल मेरी स्टोप्स सर्भिसेजको स्टोर भवनमा बुधबार भएको आगलागीबाट धनमालमा क्षति पुगेको छ ।   आगलागीमा मानवीय क्षति भएको छैन । प्रारम्भिक अनुसन्धानमा ४–५ करोडसम्मको क्षति भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
००००
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका छन् । 
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका हुन् । 
००००
पछिल्लो समय कोरोना संक्रमितहरू बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा ६२ जनामा संक्रमण पुष्टि भएको हो । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६२० नमूना परीक्षणमध्ये ५१ जनामा पीसीआर र ११ जनामा एन्टिजेन  पोजिटीभ देखिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्