२७ असार २०८३, शनिबार

प्रत्येक वडामा सामुदायिक नर्सिङ

प्रत्येक वडामा सामुदायिक नर्सिङ
फाइल तस्वीर

सरकारले सबैलाई स्वास्थ्य सेवा पुर्याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने  भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार ‘राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री रणनीति (२०७७/०७८ देखि २०८७/८८) सार्वजनिक गर्दै सबैका लागि स्वास्थ्यको नीति प्रभावकारी रुपमा कार्यन्वयन गर्न प्रत्येक वार्डमा सामुदायिक नर्सिङको व्यवस्था गर्ने उल्लेख गरेको छ । 

रणनीतिमा  मातृ तथा नव शिशु स्वास्थ्य, ज्येष्ठ नागरिक र वातावरण स्वास्थ्यको व्यवस्था गर्न प्रत्येक वडामा सामुदायिक नर्सिङ जनशक्तिको व्यवस्था गर्ने उल्लेख गरिएको छ । नेपालमा ७५३ स्थानीय तहका छ हजार ७४३ वडा छन् । रणनीतिमा प्रत्येक विद्यालयमा विद्यालय नर्सको व्यवस्था गर्नाका साथै औद्योगिक क्षेत्रमा नर्सिङ वा स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने उल्लेख गरिएको छ । 

स्वास्थ्यमन्त्री भवानी खापुङले सबै ठाउँमा स्वास्थ्य सेवा पुर्याउनुपर्ने जोड दिएका छन् । सबै क्षेत्रका जनतालाई स्वास्थ्य सेवा पुर्याउनने काम गर्नुपर्नेमा जोड दिँदै उनले संविधानमा उल्लेख भए अनुसारकोे स्वास्थ्य सेवा पुर्याउन राज्यले नसकेको बताए । ‘अहिले पनि चिकित्सक र नर्स चाहियो भनेर मन्त्रालयमा मानिस भन्न आउँछन्,’ मन्त्री खापुङले भने, ‘देशभर समतामूलक सेवा पुर्याउन आवश्यक  छ भएको र रणनीतिले लिएको लक्ष्यअनुसार नर्सिङ सेवालाई गुणस्तरीय बनाउनुपर्छ ।’ 

कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले रणनीति अनुसार स्वास्थ्यकर्मीको व्यवस्थापनमा समस्या हुने बताए । उनले दुर्गम र पहाडी जिल्लामा स्वास्थ्यकर्मी पठाउन नसकिएको उल्लेख गर्दै रणनीतिअनुसार स्वास्थ्यकर्मी दुर्गम र पहाडी  क्षेत्रमा जानै पर्नेमा जोड दिए । 

मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवले रणनीति कार्यन्वयन गर्न सके मातृ मृत्युदर र शिशु मृत्युदर घटाउन सकिने बताए । उनले रणनीतिले निजी स्वास्थ्य क्षेत्रलाई समेट्न नसकेको बताए । ‘धेरै नर्सिङ निजी स्वास्थ्य संस्थामा काम गरिरहेका छन्,’ प्रमुख विषेशज्ञ यादवले भने, ‘निजी क्षेत्रको पनि अनुगमन गर्ने गरी रणनीति ल्याउनुपर्दछ ।’

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक गोमादेवी निरौलाले गुणस्तरीय नर्सिङ तथा मिड्वाईफ्री जनशक्ति परिचालन गरी स्वास्थ्य सेवाको गुणस्तर र व्यावसायिकताको प्रवद्र्धन गर्नका लागि रणनीति ल्याइएको बताए । महाशाखाका अस्पताल नर्सिङ प्रशासकवाला राईले स्वास्थ्य सेवाको गुणस्तर, सबैका पहुँच पुर्याउनका लागि रणनीति ल्याइएको बताए । 

नर्सिङलाई विशिष्टिकृत सेवा

यस्तै नर्सिङ सेवालाई विशेषज्ञ तथा विशिष्टिकृत स्वास्थ्य सेवक रुपमा विकास गरिने उल्लेख गरिएको छ । ‘विशेषज्ञ तथा विशिष्टिकृत स्वास्थ्यलाई स्वास्थ्य सेवामा अभिवृद्धि गर्न विशेषज्ञ तथा विशिष्टिकृत नर्सिङ सेवाको विकास र व्यवस्था गरिने छ,’ रणनीतिमा उल्लेख गरिएको छ । यस्तै नर्सिङ तथा मिडवाइफ्री शिक्षाको गुणस्तर अभिवृद्धि गर्नका लागि शैक्षिक संस्थाको भौतिक पूर्वाधार र जनशक्तिको न्यूनतम मापदण्डलाई अन्तर्राष्ट्रिय मादण्डअनुसार परिमार्जन गर्ने रणनीतिमा उल्लेख गरिएको छ । 

नर्सिङ जनशक्तिको प्रक्षेपण

अहिले रहेका नर्सिङ जनशक्ति अपर्याप्त रहेकाले मुलुकको आवश्यकताको आधारमा जनशक्ति उत्पादन गर्ने लक्ष्य रणनीतिले लिएको छ । रणनीतिमा देशको आवश्यकता र प्रक्षेपणको आधारमा नर्सिङ तथा मिडवाइफ्री जनशक्ति उत्पादन गर्ने उल्लेख गरिएको छ ।

संगठनात्मक तथा व्यवस्थापन सर्वेक्षण गरी नर्सिङ तथा मिडवाइफ्री जनशक्ति आपूर्ति र परिचालन गर्ने रणनीतिमा उल्लेख छ । सङ्घीय संरचना अनुरुप नर्सिङ तथा मिडवाइफ्री जनशक्तिको गणना र प्रक्षेपण, अन्तर्राष्ट्रिय मापदण्डअनुसार एकीकृत राष्ट्रिय पाठ्यक्रम तयार गरी सोहीअनुरुप सबै सरकारी तथा निजी शिक्षण संस्थामा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने रणनीतिमा उल्लेख  छ ।
अहिले नेपालमा दर्ता भएका नर्स ६८ हजार ३१६, मिडवाइफ २८, अनमी ३६ हजार ७५४ र विशेषज्ञ नर्सिङ ५९८ जना छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्