
म्याग्दीको बेनी नगरपालिकाको सबै वडा कार्यालयको आफ्नै भवन निर्माण भएको छ ।
४ वटा नयाँ भवन निर्माण भएसँगै बेनी नगरपालिकाका १० वटै वडाको आफ्नै भवन बनेका हुन् ।
बेनीमा वडा नम्बर ७ र ८, अर्थुङ्गेमा ६ तथा पात्लेखेतमा १० नम्बर वडाको कार्यालय भवन निर्माण गरिएको नगरपालिकाका इञ्जिनीयर विमलरञ्जन कार्कीले जानकारी दिए ।
‘बेनी नगरपालिकाको १, २, ३, ४, ५ र ९ नम्बर वडाको यसअघि नै भवन थिए,’ उनले भने, ‘बहुवर्षे क्रमागत योजनाअन्तर्गत ४ वटा नयाँ भवन निर्माण चालू आर्थिक वर्षमा सकिएका हुन् ।’
आर्थिक वर्ष २०७६/७७ मा अर्थुङ्गेमा शुरू भएको वडा नम्बर ६ को भवन निर्माण कार्य चालू आर्थिक वर्ष २०७८/७९ मा विनियोजन भएको २० लाख रुपैयाँ बजेटबाट ठेक्कामार्फत पूर्णता दिइएको हो ।
पात्लेखेत र वाखेत गाउँको सिमानामा २० लाख रुपैयाँ खर्चेर गत वर्ष निर्माण भएको १० नम्बर वडाको ३ कोठे एकतले भवनमा चालू वर्ष विनियोजन भएको ९ लाख रुपैयाँ बजेटबाट सभाहल बनाएको वडाध्यक्ष मसविर रोकाले बताए ।
बेनीको सामुदायिक चोकमा अघिल्ला २ आवमा तयार पारिएको वडा नम्बर ७ को भवनको संरचनालाई चालू आवमा विनियोजन भएको ८ लाख रुपैयाँ बजेटबाट ठेक्कामार्फत प्लास्टर, रङरोगन, विद्युत्, पानी जडान गरेर पूर्णता दिइएको हो ।
नगरपालिकाले क्याम्पसचोकको भलबाढी व्यवस्थापनका लागि अधिग्रहण गरेको जग्गामा रहेको घरलाई पुनर्निर्माण गरेर ८ नम्बर वडाको कार्यालय सञ्चालन गरिएको छ । नगरपालिकाले गत वर्ष क्याम्पस चोकको भलबाढी ब्यवस्थापन गर्न १ करोड २१ लाखमा ४ आना जग्गा र त्यहाँ रहेको घर अधिग्रहण गरेको थियो ।
क्याम्पस चोकका वासिन्दाले २१ लाख रुपैयाँ संकलन गरेर नगरपालिकालाई उपलब्ध गराएका थिए । अधिग्रहण भएको घरको भुइँतलामुनि भूमिगत नाला बनाएर बाढी व्यवस्थापन गरिएको छ । भुइँतलाको सटरसहित ३ वटा कोठा भाडामा लगाइएको छ ।
पहिलो तलाको ३ वटा कोठामा वडा कार्यालय स्थापना गरिएको हो । भवन पुनर्निर्माण गरेर कार्यालय स्थापना गर्न चालू आवमा १० लाख रुपैयाँ खर्च भएको छ । नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह, कार्यालय सञ्चालन, भेला, बैठक आयोजना गर्न सहज भएको बेनपा–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताए ।
वडा नम्बर ६ बाहेकको अन्य सबै भवन प्रयोगमा आइसकेका छन् । गत वर्ष नगरपालिकाको भवन परिसरमा विषयगत शाखा कार्यालयका लागि नयाँ प्रशासकीय भवन निर्माण भएको थियो ।
प्रशासकीय भवनमा आगामी आवमा तला थप गर्न बजेट व्यवस्थापन गरिएको नगर उपप्रमुख ज्योति लामिछाने पौडेलले बताए ।