
आन्तरिक कलह चर्किंदै गएपछि नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) फुटेको छ ।
अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले एकलौटी गरेको र विधान विपरीत संगठनमा केन्द्रीय सदस्य थपेको लगायत विवाद चर्किंदै गएको थियो ।
अध्यक्ष पञ्चा सिंहको कार्यशैलीसँग असन्तुष्ट हुँदै आएको पक्षले उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा समानान्तर समिति घोषणा गरेको छ ।
उनीहरूले १९९ सदस्यीय आयोजक समिति निर्माण गरेका छन् । आयोजक समितिले संगठनमा विधान बमोजिम काम गर्ने र आगामी सम्मेलनको तयारी गर्ने बताइएको छ ।
अनेरास्ववियू (क्रान्तिकारी) को अधिवेशनको बेलादेखि नै संगठनमा एकमत थिएन । गत मंसिरमा भएको अधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन हुन नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चा सिंहलाई अध्यक्षको जिम्मेवारी तोकिदिएका थिए ।
नेतृत्वले टिपेर सिंहलाई अध्यक्ष बनाएको भनेर संगठनभित्र असन्तुष्टि थियो । पदाधिकारी घोषणा र शपथ ग्रहणका लागि बबरमहलको कार्की ब्याङ्क्वेटमा बोलाइएको भेलामा झपड समेत भएको थियो ।
त्यति मात्रै होइन, केही समयअघि काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा बोलाइएको केन्द्रीय कमिटीको तेस्रो विस्तारित बैठकमा पनि झडप भएको थियो ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रमुख अतिथिको रूपमा बोलाइएको भए पनि झडपको संकेत पाएपछि प्रचण्ड बैठकमा गएका थिएनन् ।
तेस्रो बैठकले केन्द्रीय सदस्य थप्ने निर्णय गरेको थियो । विधानको व्यवस्था विपरीत केन्द्रीय सदस्य थपेको भनेर अनेरास्ववियू क्रान्तिकारीमा विवाद झन् चर्किएको थियो ।
