संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
भालुको पित्त जस्तो देखिने वस्तुसहित प्रहरीले अर्घाखाँची पाणिनी गाँउपालिका २ बस्ने वर्ष ५३ का हरिओम रसाइली र रुपन्देही वुटवल उपमहानगरपालिका वडा नं. ३ बस्ने वर्ष ३२ को भजिन्द्र दर्जीलाई नियन्त्रणमा लिएको हो ।
भालुको पित्तको किनबेच हुन लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिगएको टोलीले काठमाडौं गोकर्णेश्वर ५ जोरपाटी, नयाँ बस्तीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने कालो रंगको वस्तु (आखेटोपहार) दुई थान बरामद गरिएको छ । पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय, काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।