नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले ‘फोनपे डाइरेक्टमार्फत् पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान शुरू गरेको छ । डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले अभियान शुरू गरिएको हो ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको फोनपेमार्फत् रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राखेर तुरुन्तै, अन्तर–बैंक कारोबारमार्फत् रकम पठाउन सकिन्छ । फोनपे डाइरेक्ट फोनपेको डिजिटल कारोबारको इकोसिस्टम अन्तर्गतको अर्को नयाँ सेवा भएको कम्पनीले बताएको छ । यसमा मोबाइल बैंकिङ एपमार्फत् सहज एवं सुरक्षित रूपमा रकम भुक्तानी गर्न सकिन्छ ।
पैसा पठाउनको लागि पैसा पठाउने व्यक्तिले आफ्नो मोबाइल बैंकिङ एप लगइन गर्नु पर्दछ । लगइन गरेपछि सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्टलाई छनाेट गरी पठाउन चाहेको रकम, प्राप्त गर्ने व्यक्तिको खाता भएको बैंकको नाम तथा खातामा लिंक भएको मोबाइल नम्बर राखेर पठाउन सकिन्छ ।
यो ‘पैसा पठाऔं ठाउँको ठाउँ’ अभियानले यसको बृहत् फिनटेक नेटवर्कमार्फत् रकम स्थानान्तरणलाई सहज एवं सुव्यवस्थित गर्न सक्ने अपेक्षा कम्पनीको रहेको छ । पैसा पठाउन वा अन्य कुनै पनि भुक्तानी गर्न अपनाइने परम्परागत जटिलतालाई यसले कम गर्ने फोनपे को दाबी छ।
यसका अतिरिक्त, मोबाइल बैंकिङ एप्सबाट रकम स्थानान्तरण गर्दा समेत कहिलेकाहीँ बैंकको खाता सही नभएको, बैंक शाखा विवरणहरू उपलब्ध नभएको, खातावालाको नाम, आदि जस्ता कुराहरु नमिल्दा रकम पठाउन सकिँदैन । तर, फोनपेले यस्ता सम्पूर्ण समस्याहरुलाई समाधान गर्ने बताइएको छ ।
फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआरमार्फत् भुक्तानी गर्न सकिन्छ । फोनपेमार्फत् अन्तरबैंक फण्ड ट्रान्सफर, हब पेमेन्टलगायतका कारोबार गर्न सकिन्छ ।