
गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीले शान्ति सुरक्षा स्थापित गर्न प्राप्त गर्ने सफलता नै नेपाल सरकारको सफलता हुने बताएका छन् ।
नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका १७ जनालाई गृह मन्त्रालयमा बधाई र निर्देशन दिँदै गृहमन्त्री खाणले नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।
प्रहरी अधिकृतहरूले सरकारले उपलब्ध गराएको सीमित स्रोत साधन उपयोग गरेर उत्कृष्ट जिम्मेवारी पूरा गर्नुपर्ने उनले बताए ।
गृहमन्त्री खाणले अहिले प्रहरी नायव महानिरीक्षक भएकाहरू ९ महिनापछि महानिरीक्षक बन्ने भएकाले राम्रो कार्यसम्पादन गर्दै आफूलाई अब्बल अधिकृत बनाउने कोसिस गर्न पनि निर्देशन दिए ।
उनले बढुवाका लागि भन्दा उत्कृष्ट कार्यसम्पादनका लागि प्रतिष्पर्धा गर्न पदोन्नति भएका अधिकृतहरूलाई निर्देशन दिए । अहिले प्रहरी नायव महानिरीक्षकमा बढुवा भएका १७ जनामध्ये चार महिला छन् । किरण बज्राचार्य, मिरा चौधरी, दुर्गा सिंह र किरण राणा प्रहरी नायव महानिरीक्षकमा बढुवा भएका हुन् ।
यसअघि असार ८ गते नायव प्रहरी महानिरीक्षकमा बढुवा सिफारिस भएका १७ जनाले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहबाट प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिह्न पाएका थिए ।