
प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
आज दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न कार्यसूचीहरूमाथि छलफल हुनेछ ।
संसदको सचिवालयका अनुसार आज सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्र पढेर सुनाउनेछन् ।
यस्तै प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सभामा उत्पति भएका विनियोजन विधेयक, २०७९, आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९, ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने छन् ।
यस्तै राष्ट्रिय सभाबाट आएका औषधी (तेस्रो संशोधन) विधेयक, २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९, रेल्वे विधेयक, २०७९ लाई टेबुल गर्ने सम्भावित कार्यसूची छ ।
आजकै प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/२०७८’ पेश गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पति भएको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथि छलफल र पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
आजको प्रतिनिधि सभा बैठकमा वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले ‘ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
साथै सो सम्झौतालाई अनुमोदन गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।