
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको हत्या आरोपीलाई बचाउन प्रयास गरिएको भन्दै स्थानीयबासीले आन्दोलन थालेपछि सदरमुकाम मंगलसेन तनावग्रस्त बनेको छ।
हत्यामा संलग्न भनिएकाहरूलाई जोगाउनका लागि सरकारी वकिल कार्यालयले नै भूमिका खेलेको आरोप लगाउँदै मृतक शाहीका आफन्तहरू आन्दोलनमा उत्रिएपछि तनाव बढेको हो। स्थानीयबासीको आन्दोलनले उग्र रूप लिएपछि प्रहरीले हवाई फायरसमेत गर्नुपरेको छ।
सोमवार बिहान मृतक शाहीका आफन्तहरू नाराबाजीसहित जिल्ला सरकारी वकिलको कार्यालय र अदालत घेराउ गर्न पुगेका थिए। उनीहरूलाई रोक्न खोज्दा प्रहरी र आन्दोलनकारीबीच झडपको अवस्था सिर्जना भएको हो।
प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्दै केही राउण्ड हवाइ फायर समेत गरेको छ। हत्याका अभियुक्तलाई अदालत पेश गर्ने तयारी भइरहेका बेला नाराबाजी गर्दै स्थानीयबासिन्दाले सरकारी वकिलको कार्यालय र जिल्ला अदालत घेराउ गर्न खोजेपछि बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। त्यसक्रममा केही आन्दोलनकारी सामान्य घाइते भएका छन्।
प्रहरीले शाहीको हत्याको आरोपमा पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहित १३ जनालाई पक्राउ गरेको छ। शाहीको हत्या संलग्न भएको भन्दै उनीसहित १३ जनाविरुद्ध आफन्तले जाहेरी दर्ता गरेका थिए।
शाही गत जेठ १७ गतेदेखि हारइरहेकामा २१ गते मृत भेटिएका थिए।